हर्क साम्पाङले अस्वीकार गरे एडीबीको ऋण– ‘खोलाखोल्सीकै पानीले गुजारा गरौँला’

लोकपथ
2.2k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले विदेशी ऋणमा आधारित खानेपानी आयोजना स्वीकार नगर्ने बताएका छन् ।

मेयर साम्पाङले खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै उनले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा धरानको खानेपानीका लागि सरकारले ४ करोड रुपैयाँ मात्र विनियोजन गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।

सप्तकोसीबाट धरानमा पानी ल्याउने दीर्घकालीन योजनाका लागि मन्त्रालयमा पटकपटक धाएको स्मरण गराउँदै मेयर साम्पाङले बाँकी खर्चको रकम एशियाली विकास बैंक (एडीबी) जस्ता दातृ निकायबाट ऋण लिने तयारी भएको जानकारी पाएको बताए । उनले पत्रमा लेखेका छन्, ‘देशलाई विदेशी ऋणको भारी बोकाएर योजना अघि बढाउनु उचित हुँदैन ।’

उनका अनुसार, धरान उपमहानगरपालिकाले अघिल्लो योजनाका क्रममा लिएको बमोजिमको ऋण अझै तिर्न बाँकी छ । यस्तो अवस्थामा फेरि नयाँ ऋण लिने सन्देश आएकोमा उनले आपत्ति जनाएका छन् ।

साम्पाङले पत्रमा उल्लेख गरेका छन्, ‘यदि राष्ट्रिय आम्दानीबाट योजना अघि बढाउन सकिँदैन भने हामी आफैँ खोला–खोल्सीको पानी प्रयोग गरेर जीवन चलाउँछौँ ।’

धरानमा लामो समयदेखि खानेपानीको समस्या रहीआएको छ । गत स्थानीय निर्वाचनमा मेयर साम्पाङले धरान उपमहानगरपालिकाका जनतालाई खानेपानीको जोहो गरिदिने भन्दै निर्वाचनमा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?