देशभर डेंगुको संक्रमण बढ्ने खतरा, ६० हजार बढीमा हुन सक्ने अनुमान

लोकपथ
434
Shares

काठमाडौं । यो वर्ष देशभर ६० हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण हुन सक्ने अनुमान गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो अनुमान सार्वजनिक गरिएको हो ।

कार्यक्रममा महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले अहिले डेंगु फैलने संवेदनशील समय भएको उल्लेख गर्दै जुनसुकै बेला र स्थानमा संक्रमण तीव्र गतिमा फैलन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरे ।

उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म डेंगुको संक्रमण उच्च दरमा फैलने खतरा रहन्छ । हालसम्म देशका ७३ जिल्लामा करिब १ हजार ६ सय जनामा डेंगु संक्रमण पुष्टि भइसकेको उनले जानकारी दिए ।

डा. दाहालले धेरै बिरामीमा लक्षण नदेखिने, परीक्षण नगर्ने वा परीक्षण भए पनि रिपोर्ट नदिने कारण संक्रमणको वास्तविक संख्या कम देखिएको बताए ।

संक्रमण बढ्ने अनुमानका आधारमा आवश्यक तयारीसहितको कार्ययोजना बनाइसकिएको र कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । साथै, डेंगु नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय तहको हुने भन्दै आवश्यक समन्वय र सहकार्य भइरहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?