बारामा रहेको जगदम्बा छडको भट्टीमा विस्फोट, एक कर्मचारी घाइते

सिडिओ, एसपी लगायतको टोली घटनास्थलमा

लोकपथ
273
Shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा छडको भट्टीमा विस्फोटपछि यति बेला सुरक्षा संयन्त्रका सबै टोली घटनास्थलमा पुगेका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका टोली पुगेका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्लाका प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालयका डिएसपी लगायतका टोली घटनास्थल पुगेर क्षतिको विवरण लिने काम गरिरहेका छन् ।

बाराका सिडिओ बसन्त अधिकारीका अनुसार भट्टी विस्फोट हुँदा कारखानाभित्रै क्रेनको अपरेट गर्ने एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।

करिब एक हजार ४ सय डिग्री सेल्सियस तापक्रममा थोत्रा र कवाडी फलाम पगाल्ने भट्टी विस्फोट हुँदा ठुलो आवाज आउनुका साथै बाहिरसम्म आगोको लप्का देखिएको थियो ।

विस्फोटमा ठुलो क्षति भएको भन्ने ठानेर स्थानीयहरू समेत त्रसित भई बाहिर स्थानीयको भिड लागेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । यद्यपि बाहिर जनताहरू आत्तिए पनि एक कर्मचारी घाइते हुनुबाहेक अन्य क्षति भएको छैन ।

जगदम्बाको उक्त भट्टी मुख्यतः कवाडी सामान संकलन गरी ती कवाडी सामानलाई पगालेर छड बनाउने भट्टी हो । देशका विभिन्न भूभागबाट संकलन गरिएका कवाडीलाई उक्त भट्टीमा लगी उच्च तापक्रममा पगालेर फलामे छड तयार पार्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?