काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले निजामती सेवा सम्बन्धी विधेयकमा भएको कुलिङ पिरियड हेरफेरलाई गम्भीर राजनीतिक र संवैधानिक अपराध भन्दै त्यसको नैतिक जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा सहमति भइसकेको व्यवस्था संसद्मा पुर्याउँदा हेरफेर गरिएको भन्दै यसलाई सुनियोजित जालसाझी र संसदीय मूल्य मान्यता माथिको ठाडो प्रहारको संज्ञा दिए।
उनले भने, ‘कुलिङ पिरियडसम्बन्धी जे सहमति समितिमा भएको थियो, त्यो सदनमा जाँदा परिवर्तन गरिएको छ। यस्तो परस्परविरोधी व्यवस्था कसले थप्यो ? समितिबाट पारित भइसकेको विधेयकमा कसरी परिवर्तन भयो ? यी गम्भीर प्रश्न हुन्।’
प्रवक्ता सापकोटाले यस घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले संविधानको मर्म र भावनामा गम्भीर चोट पुगेको दाबी गर्दै भने, ‘यो संसदमाथिको धोका र अपमान हो। सुशासनको आधार बन्नुपर्ने संसद नै जनताको विश्वासमाथि ठेस पुग्ने गरी प्रयोग भयो।’
माओवादी केन्द्रले यो घटनालाई एक-दुई व्यक्तिको मात्रै दुःसाहसु नभई सुनियोजित षड्यन्त्र भएको भन्दै यसको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई पनि शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न जोडदार माग राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया