जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

लोकपथ
616
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा ३० देखि ३५ प्रतिशतसम्मको कर वृद्धि गर्ने चेतावनी दिएका छन्।

जुलाई ९ भित्र जापानसँग व्यापार सम्झौता सम्भव नहुने देखिएको भन्दै ट्रम्पले हाललाई कर वृद्धि गर्नेबारे गम्भीर रूपमा सोचिरहेको बताएका हुन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई विश्वास लागिरहेको छैन कि जुलाई ९ अगावै सम्झौता गर्नेछौँ। जापान धेरै कठिन छ।’

अमेरिकाले प्रस्तावित व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकी चामल आयात गर्न अस्वीकार गर्नुका साथै सवारीसाधन व्यापारमा असन्तुलन देखिएको भन्दै ट्रम्पले असन्तुष्टि जनाएका छन्।

उनले जापानलाई उच्च व्यापार घाटाको दोष दिँदै आयातमा ३०–३५ प्रतिशत वा आफूले निर्धारण गर्ने कुनै पनि कर दर तिर्न तयार रहन पत्र लेख्ने तयारी गरिरहेको जानकारी दिएका छन्।

गत अप्रिलमा अधिकांश मुलुकहरूसँग उच्च आयात कर स्थगन गर्दै वार्ताको मौका दिएका ट्रम्प प्रशासनले अब त्यो विराम जुलाई ९ मा सकिन लागेपछि कडा भन्सार शुल्क लागू गर्ने चेतावनी दिएको हो।

हालसम्म ट्रम्प प्रशासनले चीनसँग अस्थायी शुल्क घटाउने र बेलायतसँग विस्तृत ढाँचाको सम्झौता गरिसकेको छ। जापानसँगको पाँचौं चरणको वार्ता भने निष्कर्षविहीन रहँदै आएको टोकियोका व्यापार दूत रायोसी अकाजावाले बताएका छन्।

उनले भने, ‘हामीले अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकेका छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?