ट्रमा सेन्टरमा आईसियु र एमआरआई सेवा विस्तारको माग गर्दै सरकारकाे ध्यानाकर्षण

लोकपथ
224
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार र एमआरआई सेवा संचालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रिजालले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालको कुल बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध गरिनुपर्नेमा ट्रमा सेन्टरमा त्यो मापदण्डको पालना नभएको बताए ।

उनकाअनुसार २०० बेड क्षमताको ट्रमा सेन्टरमा हाल जम्मा १० वटा मात्रै आईसियु कक्ष सञ्चालनमा छन् । उनले त्यहाँ कार्यरत जनशक्तिले नै तत्काल थप ५० आईसियु सेवा उपलब्ध गराउन सक्ने क्षमतासमेत रहेको भन्दै आवश्यक पूर्वाधार र व्यवस्थापन गर्न सरकारसँग माग गरे ।

सांसद रिजालले भने, ‘नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा अत्यन्त न्यून आईसियु सेवा उपलब्ध छ । त्यहाँ अति आवश्यक पर्ने एमआरआई सेवा पनि उपलब्ध छैन । चिकित्सकहरूका अनुसार ट्रमा बिरामीलाई चार घण्टाभित्र उपचार गर्न आवश्यक पर्छ तर सेवाको अभावले गर्दा निजी अस्पताल लैजानुपर्ने बाध्यता छ ।’

उनले ट्रमा बिरामीहरुले आईसियु अभावकै कारण अन्यत्र जानुपर्ने वा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गरे ।

सांसद रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा तत्काल आईसियु सेवा विस्तार र एमआरआई सेवा जडान गरी गम्भीर अवस्थाका बिरामीहरुको उपचारमा प्रभावकारीता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?