काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि चुनावी माहौल बढ्न थालेको छ । विशेषगरी प्रमुख ठूला दलले यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउँछ भनेर चासोका साथ हेर्न थालिएको छ । आकांक्षीहरु पनि टिकट पाउन दौडधुप गरिरहेका छन् । त्यसो त केही समय अघिदेखि नै दलहरूले उम्मेदवारको विषयमा छलफल र चर्चा गर्न थालिसकेका थिए । यो क्षेत्रमा विशेषगरी कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेसवादी दलहरू आन्तरिक तयारीमा जुटिरहेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित दीपक बोहोराको निधनका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो । बोहोराको २०८१ चैत १९ मा निधन भएको थियो ।
२०७९ को निर्वाचनमा सो क्षेत्रमा बोहोराले तत्कालीन गृहमन्त्री कांग्रेसका बालकृष्ण खाँणलाई हराएका थिए । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर विजयी हुँदा कांग्रेसका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा हार र भुटानी शरणार्थी काण्डका कारण राजनीतिक परिदृश्यबाट हराएका कांग्रेस नेता खाँण फेरि सो क्षेत्रबाट चुनाव लड्ने चर्चा पनि चलिरहेको छ । कुनै बेला कांग्रेसका प्रभावशाली नेता उनी अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । खाँण उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् । जिल्लाका राजनीतिक कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिका रूपमा सहभागी हुन थालेसँगै उनको ’कमब्याक’को सम्भावना पनि बढेको छ ।
यद्यपि, संसदीय निर्वाचनमार्फत सक्रिय राजनीतिमा कमब्याक हुनका लागि खाँणको बाटो भने त्यति सहज देखिँदैन । किनभने त्यसअघि नै भुटानी शरणार्थी प्रकरणको मुद्दाको किनारा लाग्नुपर्ने छ । भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंग्याउने प्रयास सुरु भए पनि त्यसको प्रक्रिया लामो हुने देखिन्छ ।
खाँण पाटन उच्च अदालतबाट धरौटीमा रिहा भए पनि सोही प्रकरणका अन्य अभियुक्तहरू पूर्वगृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझीलगायत थुनामै छन् । खाँणको मुद्दामा पनि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अहिलेसम्म सर्वोच्च अदालत गएको छैन । त्यसलाई कांग्रेससँगै अन्य दलका नेता कार्यकर्ताले राजनीतिक संरक्षणका रूपमा हेरेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर खाँण २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो ।
कांग्रेसले यसअघि नै सो क्षेत्रमा जितिने आँकलनसमेत गरेको थियो । ‘हेभीवेट उम्मेदवार’ र आफ्नो राम्रो जनाधार भएको क्षेत्र मानिएकाले कांग्रेसले सो क्षेत्रलाई जित्ने सूचीमा त्यसबेला राखेको थियो ।
तर अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेसले अहिले सो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाउने निश्चित छ । उपनिर्वाचनबाटै तनहुँको एक सिट गुमाएको नेपाली कांग्रेस यो उपनिर्वाचनबाट शोधभर्ना गर्ने दाउमा पनि छ । यसका लागि कांग्रेस सत्ता सहयात्री दल एमालेको सहयोग लिने दाउमा पनि छ । किनकि यो क्षेत्रमा चुनाव नै जित्ने एमालेको हैसियत छैन ।
रुपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।
स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।
स्रोतका अनुसार कांग्रेस संस्थापन पक्ष एमालेसँग समेत समन्वय गरेर खाँणलाई नै अघि सार्ने दाउमा छ । तर भुटानी शरणार्थी प्रकरणको मुद्दाको टुंगो लागिनसकेकाले खाँणको विकल्पमा अन्यको पनि चर्चा छ ।
स्रोतका अनुसार खाँण उम्मेदवार बन्न नसकेको अवस्थामा कांग्रेसले भरत शाह र प्रमोद यादवमध्ये एक जनालाई अघि सार्न सक्छ । यी दुवै जना २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।
यादव रुपन्देही क्षेत्र नं. ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग र शाह क्षेत्र नं. ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए ।
यो क्षेत्रमा एमालेबाट खिमलाल भट्टराई बलिया उम्मेदवार हुन् । एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने र भरत पोखरेल पनि उम्मेदवारको चर्चामा छन् ।
तर एमालेले उम्मेदवार उठाएको खण्डमा भट्टराईलाई नै अघि सार्ने सम्भावना बढी छ । भट्टराई तिनै व्यक्ति हुन् जो २०७९ मै रुपन्देही–५ बाट उम्मेदवार बन्नका लागि नै राष्ट्रिय सभाको १८ महिना अवधि बाँकी हुँदै राजीनामा दिएका थिए । तर, उनको दुर्भाग्य नै भन्नु पर्छ, सो क्षेत्रमा एमालेका वासुदेव घिमिरेले पहिला नै उम्मेदवारी दर्ता गर्दा भट्टराई उम्मेदवारी दर्ता नै गर्न नपाई चुनावी दौडबाट बाहिरिन बाध्य भएका थिए ।
भट्टराई अहिले सो क्षेत्रमा चुनाव लड्न आफ्नो माहौल बनाइरहेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो चाहना व्यक्त गरिसकेका छन् । ओलीले भट्टराईलाई ‘ग्रिन सिग्नल’ दिइसकेको एमाले पंक्तिभित्र चर्चा पनि चल्न थालेको छ । केही दिनअघि उनले पार्टी अध्यक्ष ओलीलाई भेटेको तस्बिरसमेत सार्वजनिक गरेका थिए । अहिले भूगोलमै खटिएकाले उनी नै उम्मेदवार बन्ने सम्भावना बढी छ ।
यो क्षेत्र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको क्षेत्र पनि हो । २०७४ मा यही क्षेत्रमा चुनाव जितेका भुसाल गत निर्वाचनमा भने क्षेत्र नम्बर १ मा एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनी पनि उपनिर्वाचनको उम्मेदवार बन्न सक्ने सम्भावना छ । नेकपा (माओवादी केन्द्र) बाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । तर, भुसाल उठेको अवस्थामा माओवादीले क्षेत्र छोड्न सक्ने चर्चा पनि छ ।
त्यस्तै मधेसवादी दलहरूले पनि यस क्षेत्रमा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । मधेसवादी दलको शक्ति धेरै भए पनि अलग–अलग जाँदा जित्न नसक्ने निष्कर्षसहित मधेसवादी दल छलफलमा जुटेका हुन् ।
दीपक बोहोराको निधनपछि निर्वाचन क्षेत्र गुमाएको राप्रपा पनि जित्ने रणनीतिका साथ अघि बढिरहेको छ । राप्रपाले बोहोराकै दुई छोरामध्ये एक जनालाई चुनावी मैदानमा उतार्ने तयारी गरिरहेको छ । तर राप्रपाभित्रै बोहोराका दुई छोरामध्ये कसलाई अघि बढाउने भन्ने विवाद छ । दीपकका छोरा प्रज्वल बोहोरा अहिले चुनावी रणनीतिसहित क्षेत्रमै खटिएका छन् । जेठा छोरा गौरव पाइलट हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया