जुम्लामा चरिरहेका १३ भेडा पहिरोमा पुरिए

लोकपथ
133
Shares
सांकेतिक तस्बिर

जुम्ला । तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका १३ भेडा पुरिएका छन् ।

सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो । वर्षातको कारण आएको पहिरोले पुरिएर १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिए ।

उनका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन । कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् । घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिड्नुपर्दछ ।

इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ । तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरीरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए ।

उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?