काठमाडौं । आगामी आर्थिक वर्षको बजेटपछि उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना पार्टीभित्र र बाहिर समेत भयो । पार्टीका केही सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नै नदिएको भन्दै आलोचना गरे ।
यता पार्टी बाहिर भने देशको बजेट कांग्रेसको विभिन्न जिल्लाका पार्टी कार्यालय निर्माणदेखि भ्रातृ संगठनका भवन निर्माण गर्न छुट्टयाइएको भन्दै आलोचना भयो ।
तर कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा प्रकाशमानले पार्टीको संरचना निर्माण गर्नका लागि योगदान दिएको भन्दै सम्मान गर्नुपर्ने विषय उठेको छ । कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले बैठकमा भाग लिँदै पार्टीको संरचना निर्माणमा प्रकाशमानको भूमिका रहेको भन्दै प्रशंसा गरे । साथै पार्टीबाट आलोचना नगर्न समेत आग्रह गरे ।
‘शहरी विकासमन्त्री वर्तमान सरकारका उपप्रधानमन्त्रीले धेरै ठाउँमा पार्टीका संरचना निर्माण गर्न जुन खालको योगदान गर्नुभएको थियो, यो योगदान गरेको अवस्थामा पार्टीले आभार प्रकट गर्ने हो कि आलोचना र ह्यारेस्मेन्ट गर्ने काम गर्ने हो ? राम्रो गरेकालाई राम्रो भनौँ, नराम्रो गरेकालाई संशोधन गर्न प्रयत्न गरौँ तर आलोचना गर्ने होइन सम्मान गर्ने हो, प्रोत्साहन गर्ने हो,’ उनले भने ।
त्यस्तै उनले नेपाली कांग्रेसबाटै कृषिमन्त्री भए पनि किसानहरुले मल नपाइरहेको भन्दै त्यसको जवाफ आफूहरुले समेत दिनुपर्ने अवस्था रहेको बताए ।
‘खेतीपातीको बेला छ, मलको हामीमा जति आवश्यक्ता छ, त्यसको आधा मात्र हामीमा उपलब्ध छ । हामी सरकारमा छौँ, कृषिमन्त्री हाम्रै हुनुहुन्छ । किसानले मल नपाउँदा त्यसको जवाफ हामीले पनि दिनुपर्छ,’ उनले भने ।
त्यस्तै उनले केन्द्रीय समिति बैठकमा नेताहरुबिच आग्रह र पूर्वाग्रहपूर्ण व्यवहार भएको भन्दै कटाक्ष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया