आईजीपीकै सामुन्ने सशस्त्रका एसएसपीले लगाए सरुवा बढुवामा आर्थिक चलखेलको आरोप, सोधियो स्पष्टीकरण

लोकपथ
15.9k
Shares

काठमाडौं । गत असार ११ र १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ आयोजना गरिएको थियो । सो सम्मेलनमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षक (आईजीपी) को सहभागिता थियो । सम्मेलनमा काठमाडौं उपत्यकाबाहिर रहेका एसएसपी र नायव महानिरीक्षक (डीआईजी)हरुलाई भने भर्चुअल माध्यमबाट समेटिएको थियो । कार्यक्रमको समापन भने गृहमन्त्री रमेश लेखकले गरेका थिए । समापन कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालय अन्तर्गतको सुरक्षा तथा समन्वय महाशाखाका सह–सचिव रामचन्द्र तिवारी, प्रशासन महाशाखाका सह–सचिव छवि रिजाल, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत तथा भर्चुअल माध्यमबाट प्रदेशस्थित बाहिनी मुख्यालयका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनको मुख्य विषय थियो सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायत । सो सम्मेलन सकिएको एक साता हुन लागेको छ । तर सो सम्मेलनमा एक जना एसएसपीले विषयवस्तुभन्दा बाहिर गएर बोलेको विषयले भने सशस्त्र मुख्यालय नै तरंगित बन्न पुगेको छ । सशस्त्र प्रहरीको नेतृत्व सम्हालेको ३८ महिनासम्म पनि कुनै पनि आर्थिक लेनदेनमा नमुछिएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका सामु ती एसएसपीले बोलेको विषयले उनलाई स्पष्टीकरण बुझाउनु पर्ने तहसम्म पुर्‍याएको छ । 

यसरी सम्मेलनको विषयवस्तु भन्दा बाहिर गएर, सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई नै बदनाम पार्ने गरी बोल्ने एसएसपी हुन् प्रवीण कँडेल । उनले वरिष्ठ अधिकृत सम्मेलनमा महानिरीक्षक अर्यालकै अगाडि सरुवा बढुवामा व्यापक आर्थिक चलखेल हुने गरेको आरोप लगाएका थिए । आर्थिक चलखेलकै कारण योग्य र इमानदार अधिकृत सरुवा/बढुवामा पछि पर्ने गरेको र नेतृत्व तहले यसलाई गम्भीररुपमा नलिएको आरोप लगाएका थिए । उनले योग्य र इमानदार अधिकृतको सशस्त्र प्रहरीमा कुनै भविष्य नरहेको र जाली कुरा गर्नेहरूको बोलवाला रहेको पनि आरोप लगाएका थिए । 

वरिष्ठ अधिकृत सम्मेलनमा बोलेका यिनै विषयलाई लिएर सशस्त्र मुख्यालयले उनलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेको अवस्थामा भने उनलाई आफ्नो अभिव्यक्ति नै घाँडो बन्ने सम्भावना बढी छ । किनकि केही महिनाकै अन्तरमा आउने डीआईजी पद गुम्ने सम्भावना प्रबल छ । 

एसएसपी कँडेल नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका व्यक्ति हुन् । सशस्त्र प्रहरीमा उनको वरीयता जहिले पनि सशस्त्र प्रहरी निरीक्षकको सिसं १ इन्स्पेक्टर बेसिकका अधिकृतहरूको भन्दा मुनी र सिसं २ को टोलीभन्दा माथि रहँदै आएको थियो । सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृतहरू पहिलो पटक एसएसपीमा बढुवा हुँदा पनि उनलाई उनीहरूभन्दा माथि नै राखेर बढुवा गरिएको थियो । तर पछिल्लो पटक डीआईजीको बढुवा गर्दा वरीयतामा उनी भन्दा मुनी रहेका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट परे, उनी परेनन् । उनीमात्रै होइनन् वरीयतामा उनीमाथि माथि रहेका सिसं १ टोलीकै मनिष थापा पनि छुटे । उनीहरूले यसलाई सार्वजनिक खपतको विषय बनाएनन्, संगठनको हुर्मत लिने काम गरेनन् । तर, कँडेलले भने महानिरीक्षक अर्यालकै हुर्मत लिने काम गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?