काठमाडौं । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चार्जिङ प्वाइन्ट नजिक कोइला बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक मंगलबार बिहान दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट अनियन्त्रित भई पल्टिँदा गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय चालक महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार ट्रकभित्र च्यापिएर गम्भीर घाइते भएका चालक यादवलाई अचेत अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया