काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधनको विषयमा सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेका छन् ।
आजबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो लिखित धारणा राख्दै कोइरालाले ७ बुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख भएको तर अहिले त्यो विषय सेलाएको भन्दै प्रश्न गरे ।
सुरुमा आफूले नै एमालेसँग सत्ता सहकार्य गर्न सकिने धारणा राखेको तर पहिले कांग्रेसले नेतृत्व गर्नुपर्ने आफ्नो आशय रहेको तर त्यसो हुन नसकेको शेखरको गुनासो रहेको छ ।
‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ । अहिले एमालेसँग सरकारमा छौँ । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ डा. कोइरालाले देउवालाई प्रश्न गर्दै भने, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।’
०८२ सालको मंसिरमा नै महाधिवेशन गर्नुपर्ने तर अहिलेसम्म त्यसको माहोल नरहेको भन्दै कटाक्ष गरे । १५औँ महधिवेशन आगामी मंसिरमा गर्नुपर्नेमा आफू दृढ रहेको तर हुन सक्ने वा नसक्ने कारणबारे सभापतिले चित्तबुझ्दो जवाफ दिनुपर्ने उनले बताए ।
‘हामी अहिले महाधिवेशनको वर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ,’ उनले भने ।
त्यस्तै उनले सभापति देउवाले आफूमाथि केही अनुशासनको प्रश्न उठाएको भन्दै त्यसको जवाफ समेत माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया