सांसद थापाद्वारा गोमालाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्तिको घोषणा

लोकपथ
7.9k
Shares

भक्तपुर । एसईई परीक्षा २०८१ मा ४.० जिपिए हासिल गरेकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेका छन्।

रामेछाप स्थायी घर भई भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बस्दै आएकी गोमा चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयकी विद्यार्थी हुन्।

उनले भने, ‘गोमाले चाहेको खण्डमा विद्यालय शुल्क, पोशाक र किताब खर्च सबै मेरो तर्फबाट निःशुल्क उपलब्ध गराइनेछ।’ साथै, उनले छिट्टै गोमालाई भेटेर आवश्यक समन्वय गर्ने जानकारी पनि दिए।

सांसद थापाले गोमालाई काठमाडौंको नासा कलेजमा विज्ञान सङ्कायमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति दिने प्रतिबद्धता जनाएका हुन्। उनले कक्षा १२ पछिको मेडिकल अध्ययनका लागि समेत सहयोग गर्ने आश्वासन दिएका छन्।

चार वर्षको उमेरदेखि इँटाभट्टामा बसेर अध्ययन गर्दै आएकी गोमाले विपन्न र चुनौतीपूर्ण परिस्थितीबीच पनि उच्च उपलब्धि हासिल गरेकी हुन्। डाक्टर बन्ने लक्ष्य लिएकी गोमाले विज्ञान संकायमा अध्ययन गर्न चाहेको जनाएकी छिन्।

‘गोमा जस्तो लगनशील र मेहेनती छात्रालाई साथ दिन पाउनु गौरवको विषय हो,’ सांसद थापाले भने, ‘उनको सफलता विशेषगरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?