कालीकोट । कालीकोटको गगने खोलादेखि हुल्मसम्मको सडक खण्डमा गएको पहिरोका कारण कर्णाली राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार राति देखिको लगातारको भारी वर्षाका कारण सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको यो भागमा धेरै स्थानमा पहिरो खसेको हो।
प्रहरीका अनुसार गगने खोलाको भीरबाट खसेको ठुलो पहिरोले सडक पूरै ढाकिएको छ। कालीकोटका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले लगातार पहिरो खसिरहेकाले उद्दार तथा सरसफाइमा कठिनाइ भएको बताए।
‘गाडी गुड्न सक्ने अवस्था छैन,’डीएसपी रावतले भने, ‘कर्णाली कोरिडोर सुरु हुने खुलालु जिरोप्वाइन्टमा खसेका ढुंगा हटाएर जेसीभी गगने खोलातिर पठाइएको छ। पहिरो अझै बगिरहेको छ, जसका कारण काम गर्न मुस्किल भइरहेको छ।’
सडक डिभिजन जुम्लाले थप मेसिनसमेत परिचालन गरेको जानकारी दिँदै उनले मौसममा सुधार आए दिउँसोसम्म एकतर्फी रूपमा भए पनि सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए।
सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला, मुगु, बाजुरा र हुम्लाबाट सुर्खेततर्फ आउने तथा त्यहाँबाट माथिल्ला जिल्लातर्फ जाने सवारी साधनहरू रोकिएका छन्। यात्रुहरू बाटो खुल्ने पर्खाइमा रहेका छन्।
स्थानीय प्रशासनले आवागमनमा सावधानी अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया