काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता विस्तार हुँदै गएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको श्रम र पुँजीबजार दुवै संकुचनको अवस्थामा रहेको उल्लेख गरे ।
उनका अनुसार पुँजीबजार गुञ्जायमान हुन सकेन भने श्रम बजार पनि नेपाली श्रमिक र सीपअनुसार विकास हुन सकेको छैन । उनले भने, ‘आज नेपालको श्रम र पुँजीबजार संकुचनमा छ । श्रम बजारमा हेर्ने हो भने, आज नेपालीले भन्दा अरूले नै श्रम बजारमा आफ्नो बाहुल्यता विस्तार गर्दै गइरहेका छन् ।’
मन्त्री भण्डारीले शिक्षा प्रणाली श्रम बजारको मागअनुसार नहुनु प्रमुख समस्याका रूपमा औँल्याए । ‘नेपालको श्रम बजारले जे खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्यो भन्दा फरक खालको उत्पादन गरिरहेको छ, ‘उनले भने । उनले वर्तमान शिक्षा प्रणालीले दक्ष र व्यवहारिक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै शिक्षामा लगानी गरेका युवाहरु श्रम बजारमा असफल भइरहेका बताए ।
श्रम बजारमा देखिएको समस्याको समाधानका लागि सरकार लागि परेको उनले जानकारी दिए । ‘नेपाली श्रम बजार नेपालीको श्रम र नेपाली सीपको बजार बन्नुपर्छ, ‘मन्त्री भण्डारीले स्पष्ट पारे ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसले शिक्षा र रोजगारीलाई आपसमा जोड्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया