काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले ल्याएको ब्याज अनुदान कार्यविधिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले स्टार्टअपका लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, प्रदेश तथा स्थानीय सरकारको नवप्रवर्तनीय कामहरुको बारेमा विशेष छलफल र अन्तरक्रिया हुन जरुरी छ ।’
मन्त्री चौधरीका अनुसार आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन उद्यमशीलताको प्रवर्द्धन आवश्यक छ । यस्ता कार्यक्रमले युवा उद्यमीहरूलाई प्रेरणा दिँदै नयाँ उद्यम सुरु गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
उनले युवाहरूलाई उचित ठाउँमा लगानी र मेहनत गर्न आग्रह गर्दै अबको निकास उद्यमशीलता, रोजगारी सिर्जना र सीप विकास भएको स्पष्ट पारे ।
मन्त्री चौधरीले तीन तहकै सरकारले नेपाली उत्पादन र सोचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै युवा उद्यम प्रवर्द्धनका लागि सहजीकरणको आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया