काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिएका लागूऔषध कारोबारका आरोपितलाई उच्च सरकारी वकिल कार्यालय पाटनले मुद्दा चलाउने निर्णय गरेपछि चार कारोबारीविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पहिले उन्मुक्ति दिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पहिले लागूऔषध कारोबारको कसुरमा पक्राउ परेका कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कालाई भने अभियोगबाट सफाइ दिएको थियो । कुल ५ लाख ३४ हजार १ सय क्याप्सुल ट्रामाडोल साइमन बनबारीको साथबाट बरामद हुँदा ती लागूऔषधहरु कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, पुरुषोत्तम रोक्का र प्रदीप शरार्फबाट खरिद गरी विक्री वितरण गरेको बयान बनवारीले दिएका थिए ।बनवारीले पोल बयान गरेपछि नियन्त्रणमा परेका कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ, पुरुषोत्तम रोक्का र सुधीर लामिछानेलाई समेत मुद्दा चलाउन लागूऔषध नियन्त्रण ब्युरोले रायसहितको प्रतिवेदन दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पूर्ण बहादुर कसीले भने साइमन बनवारीलाई मात्रै मुद्दा चलाई अन्य आरोपितलाई कसुर पुष्टि हुने प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए ।
लागूऔषध मुद्दाका मुख्य कारोबारीलाई सरकारी वकिलको उन्मुक्ति, पैसा लिएर छाडेको आरोप
आरोपितहरुविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दा आर्थिक लाभ लिइएको आरोप सरकारी वकीलमाथि लागेको थियो । सो सम्बन्धमा लोकपथले निरन्तर समाचार प्रकाशित गर्दै सरकारी वकिलले बदनियत राखेकोबारे उल्लेख गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गरेको मुद्दा नचलाउने निर्णयमाथि उच्च सरकारी वकिल कार्यालय पाटनमा प्रतिवेदन पुगेपछि उच्च सरकारी वकिल कार्यालयले अध्ययन गर्दा मुद्दा चलाइनुपर्ने देखिएको भन्दै मुद्दा चलाउन निर्देशन दिएको थियो ।
उच्च सरकारी वकिल कार्यालयले २०८२ जेठ २९ गते नै आरोपितहरू कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काविरुद्ध समेत मुद्दा दायर गर्न निर्देशन दिएको भए पनि त्यसको १५ दिनपछि मात्रै काठमाडौं जिल्ला अदालतमा असार १३ गते शुक्रबार मुद्दा दायर भएको हो ।
के थियो लागूऔषध कारोबारीलाई जिल्ला सरकारी वकिलले उन्मुक्ति दिएको विषय ?
लागूऔषध नियन्त्रण ब्युरोले गत फागुनको पहिलो साता सुजन ताम्राकार भन्ने लागूऔषध प्रयोगकर्तालाई ट्रामाडोलसहित पक्राउ ग¥यो । प्रहरीले सुजनसँग सोधपुछ गर्दा उक्त लागूऔषध फार्मेसी पसल सञ्चालक सुधीर लामिछानेले बिक्री गरेको खुल्यो । त्यस लगत्तै प्रहरीले सुधीर लामिछानेलाई पनि पक्राउ गर्यो ।
प्रहरीले सुधीरसँग पनि सोधपुछ गर्दा क्षेत्रपाटीमा केटीएम सर्जी हाउस सञ्चालन गर्ने कृष्णप्रसाद चौलागाईं र अर्का कारोबारी साइमन बनवारीसँग आफूले लागूऔषध ट्रामाडोल ल्याई बिक्री वितरण गर्ने गरेको बयान दिए । त्यस लगत्तै प्रहरीले कृष्णप्रसाद चौलागाईं र साइमन बनवारीको खोजी गर्यो । खोजीका क्रममा साइमन बनवारी मकवानपुरको हेटौंडामा रहेको खुल्यो भने कृष्णप्रसाद चौलागाईंलाई ब्युरोले टोखाबाट नियन्त्रणमा लियो । साइमन बनवारीलाई पनि मकवानपुरबाट काठमाडौं बोलाएर नियन्त्रणमा लिइयो । फागुनको ९ गते सुधीरलाई बेच्न भनी ल्याएको ४१ हजार २ सय थान ट्रामाडोलसहित चन्डोलबाट साइमन पक्राउ परे । त्यसपछि बनवारीको कोठामा समेत खानतलासी हुँदा थप ४ लाख ९२ हजार ९ सय थान क्याप्सुल ट्रामाडोल बरामद भयो । साइमनको साथबाट कुल ५ लाख ३४ हजार १ सय क्याप्सुल ट्रामाडोल बरामद भयो ।
त्यसपछि साइमन बनवारीलाई समेत कार्यालयमा ल्याई प्रारम्भिक बयान लिँदा निजले ती लागूऔषधहरु क्षेत्रपाटीमा केटीएम सर्जी स्टोर नामक सर्जिकल सप्लायर्सको काम गर्ने कृष्णप्रसाद चौलागाईं, कुपन्डोलमा प्रसिद्धि ट्रेड कन्सर्न चलाउने पवन भण्डारी तथा लागूऔषध कारोबारीहरू प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग सस्तोमा किनी फार्मेसीहरूलाई नाफा खाएर बिक्री वितरण गर्ने गरेको खुल्यो ।
साइमनको बयानमा पोल भएका कृष्णप्रसाद चौलागाईं त्यसअघि नै लागूऔषध नियन्त्रण ब्युरोको नियन्त्रणमा आइसकेका थिए भने प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का लागूऔषध कारोबारको मुद्दामा नै केन्द्रीय कारागारमा थुनामा रहेका थिए । प्रहरी नियन्त्रणमा नरहेका पवन भण्डारीको खोजी गर्दा उनी तत्काल फरार रहेका थिए ।
साइमन बनवारीले सरकारी वकिलसमक्ष बयान गर्दा प्रदीप शरार्फसँग १ लाख ८० हजार क्याप्सुल, कृष्णप्रसाद चौलागाईंसँग ९० हजार क्याप्सुल, पुरुषोत्तम रोक्कासँग १ लाख ८० हजार क्याप्सुल र पवन भण्डारीसँग १ लाख ८० हजार क्याप्सुल गरी आफ्नो डेरा कोठामा भन्डारण गरेको बताए । उक्त लागूऔषधमध्ये आफू पक्राउ पर्नुभन्दा करिब २ महिना पहिले सुधीर लामिछानेलाई २४० बक्सा अर्थात् ७२ हजार क्याप्सुल बिक्री गरेको तथा अर्का व्यक्ति अनिल भट्टलाई २३ हजार ९ सय क्याप्सुल बिक्री गरी बाँकी आफूसँग नै रहेको अवस्थामा पक्राउ परेको बयान दिए । उक्त बयानमा बनवारीले पोल बयान भएका प्रतिवादीहरूसँग रहेको लागूऔषध आफूले किनी विक्री गरेको बयान दिए ।
साइमन बनवारीकै मोबाइलको प्रारम्भिक विश्लेषणमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाणसमेत फेला पर्यो । केही कारोबार भएकोसमेत फेला परेपछि प्रहरीले साइमनसँग थप बयान लियो ।
साइमनले आफ्नो थप बयानमा भनेका छन्,
‘लागूऔषध ट्रामाडोल कारोबारका क्रममा पवन भण्डारी, प्रदीप शर्राफ, कृष्णप्रसाद चौलागाईं र पुरुषोत्तम रोक्काले मलाई विभिन्न नम्बरहरूबाट फोन गरी कुराकानी गर्ने गरेका थिए, उक्त नम्बरहरू खुलाउन सक्दिन । ट्रामाडोल कारोबार बापतको रकम नगदै प्राप्त गर्ने र कहिलेकाहीँ चेक मार्फत गर्ने गरेको थिएँ । प्रहरी प्रतिवेदन साथ दाखिला भएको मेरो मोबाइलबाट गरिएको स्क्रिन सट म, प्रदीप शर्राफ, पवन भण्डारी र पुरुषोत्तम रोक्काबिच लागूऔषध ट्रामाडोल कारोबारको क्रममा भएको कुराकानी हो ।’

यही बयान, साइमन बनबारीसँगको कुराकानी तथा कारोबारको प्रमाण पाएपछि प्रहरीले साइमन पक्राउ परेको एक महिनापछि २०८१ चैत ८ गते पवन भण्डारीलाई पनि नियन्त्रणमा लियो ।
त्यसपछि सबैको बयान सुरु हुँदा कृष्णप्रसाद चौलागाईंले साइमनसँग कुनै कारोबार नै नभएको, २०७२ सालमा चिनजान भएको र भेटघाट हुने गरेको तर विगत १८ महिना पहिलेदेखि निजसँग भेटघाट र कुराकानी नै नभएको र ट्रामाडोल कहिल्यै नबेचेको बयान दिए ।
पवन भण्डारीले बयान गर्ने क्रममा पनि निजसँग चिनजान रहेको तर ट्रामाडोल बिक्री नगरेको बयान दिए । आफूले साइमनलाई मास्क, स्यानिटाइजर लगायतका सामाग्री मात्रै बिक्री गरेको र त्यही कारोबारको विषयमा कुराकानी भएको र बैंकमा पैसा राखिदिएको भए पनि त्यही बापतको पैसा भएको बयान दिए ।
प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काले त साइमन बनवारीलाई चिनेको समेत छैन भनेर बयान दिए, जबकि साइमनको मोबाइलमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाण समेत प्रहरीसँग सुरक्षित थियो ।
पोल बयान भएका दुई जना ट्रामाडोल कारोबारको कसुरमै थुनामा थिए भने बाहिर रहेका कृष्ण र पवनको ठेगानामा प्रहरीले छापा मारे पनि ट्रामाडोल वा अन्य लागूऔषध भने बरामद गर्न सकेन ।
यहीबिचमा पोल बयान भएका मुख्य कारोबारी भनिएका कृष्णप्रसाद चौलागाई र पवन भण्डारीले साइमनको बयान परिवर्तन गराउन धेरै कोसिस गरे । साइमनले अदालतमा गएर पनि त्यही कुरा भन्छु भनेपछि प्रहरीमै दिएको बयान परिवर्तन गराउन दुई आरोपितले गरेको प्रयास असफल भयो ।
दुई आरोपित जोगाउन सरकारी वकिलको निर्देशन !
प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पठाई साइमन बनवारी प्रकरणसँग जोडिएका कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ, पुरुषोत्तम रोक्का र सुधीर लामिछानेलाई पनि मुद्दा चलाउने राय दियो । तर सरकारी वकिलले भने साइमन बनवारीविरुद्ध मात्रै मुद्दा चलाउने गरी पटकपटक यो वा त्यो पुगेन भन्दै निर्देशन दिइरह्यो ।

सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन दुई पटक फिर्ता पठाउँदै साइमन र कृष्णप्रसाद चौलागाईं तथा पवन भण्डारीसँगको कल डिटेल्स पेस गर्न भन्यो । जबकि साइमनले कृष्ण, पवन, प्रदीप र पुरुषोत्तमसँग फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा मात्रै कुराकानी गरेका थिए तर सरकारी वकिल भने कुराकानी पुष्टि गराउन भन्दै डाइरेक्ट सिमकार्डमा गरिएको नभएको संवादको रेकर्ड खोज्दै थियो । अनि कारोबार भएको भए बैंक खातामा हालेको प्रमाण खोज्न निर्देशन दियो, जबकि साइमनको बयानमा पनि नगदमा कारोबार भएको उल्लेख गरिएको छ । तर अन्य आरोपितलाई क्लिन चिट दिने उद्देश्यले सरकारी वकिलले भने नभएको प्रमाण खोजिरह्यो, मागिरह्यो ।
सरकारी वकिललाई ६० लाख दिन भन्दै चौलागाईँले बनवारीसँग मागे रकम
ठुलो मात्राको लागूऔषध कारोबारमा पोल बयानपछि पक्राउ परेका आरोपित कृष्ण चौलागाईले सरकारी वकिलबाटै केस मिलाउने भन्दै बनवारीसँग रकम माग गरेको समेत पाइएको छ । उक्त मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादी साइमन बनवारीले सरकारी वकिलबाटै छुटाउने भन्दै आफूसँग समेत रकम माग गरिएको स्वीकार गरे ।
लोकपथसँगको कुराकानीमा साइमनले भने, ‘सरकारी वकिलले ६० लाख रुपैयाँ माग्यो भन्दै त्यसको आधा अर्थात् ३० लाख रुपैयाँ मसँग पनि मागिएको थियो । कृष्ण चौलागाईँले जिल्ला सरकारी वकिल कार्यालयमा कुराकानी भइरहेको र सरकारी वकिलले ६० लाख रुपैयाँ माग गरेको भन्दै त्यसको आधार रकम मैले दिनुपर्ने भनेका थिए । तर मेरो २५ लाख रुपैयाँको त औषधी नै समातिएको थियो र मसँग पैसा पनि थिएन । पछि सरकारी वकिल ४५ लाखमा मुद्दा नचलाउन तयार भए हामी १०-१० लाख हाल्छौँ तिमी २५ लाख हाल भन्दै थिए । तर म छुट्ने अवस्था नभएपछि मैले रकम दिइन । पछि उनीहरूले २०-२० लाख रकम दिएर छुटेको भन्दै मलाई पनि छुटाउँछु भनेका थिए । कृष्णले हिरासतबाट निस्कँदा पछि भेट्न आउँछु भनेका थिए, तर अहिलेसम्म आएका छैनन् ।’
२ करोड घुसको चर्चा
यता ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको किनबेच र कारोबारमा संलग्नहरूलाई सरकारी वकिलले उन्मुक्ति दिएको र उन्मुक्ति दिन २ करोड रुपैयाँको घुस डिल भएको चर्चा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा चलेको थियो । आरोपितले सरकारी वकिललाई मिलाउनु पर्ने भन्दै थुनामा रहेका व्यक्ति अर्थात् साइमन बनवारीसँग ३० लाख रुपैयाँ रकमसमेत माग गरेका थिए, त्यसको प्रमाण लोकपथसँग सुरक्षित छ ।

यो मुद्दामा निर्देशन दिने र अभियोजन गर्ने काम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता पूर्ण बहादुर केसीले गरेका थिए । उनले अन्य आरोपितलाई मुद्दा नचल्ने निर्णय गरी उन्मुक्ति दिँदा साइमन बनवारीलाई मात्रै मुद्दा चलाउने निर्णय गरेका थिए ।
यस मुद्दाको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका अभियोजक पूर्णबहादुर केसीसँग कुराकानी गर्दा उनले घुसको कारोबार भएको आरोप झुटो भएको भन्दै प्रमाण पेस गर्न चुनौती दिए । उनले वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको कारण मुद्दा नचलाइएको जिकिर गर्दै आफू नै अन्तिम निर्णयकर्ता नरहेको र माथिबाट अर्को आदेश आएमा मुद्दा चल्ने बताए ।
ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको कारोबार तथा भण्डारण गरेको अभियोगमा पक्राउ परेका साइमन बनवारी हाल पुर्पक्षका लागि थुनामा छन् भने अन्य मुद्दाबाट समेत प्रतिवादी रहेका प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का पनि कारागारमै छन् । फार्मेसी सञ्चालक सुधीर लामिछाने पनि थुनामा रहँदा गम्भीर आरोप लागेका कृष्णप्रसाद चौलागाईं र पवन भण्डारीलाई भने सरकारी वकिलले अभियोगबाट उन्मुक्ति दिएको छ । तर सोही कार्यालयले अन्य केही मुद्दामा भने कुनै प्रमाण नभएका तर पोल बयानमा परेका अन्य कारोबारीविरुद्ध भने मुद्दा चलाएको छ भने उनीहरू पुर्पक्षका लागि थुनामा गएका छन् ।
‘६० लाख मागेको कुरा भनेकै हो’ : आरोपित कृष्ण प्रसाद चौलागाईँ
यता यस मुद्दामा आरोपित रही ८८ दिन थुनामा बसी सरकारी वकिलले उन्मुक्ति दिएका कृष्ण प्रसाद चौलागाईले बनवारीसँग सरकारी वकिललाई मिलाउन ६० लाख दिनुपर्ने विषयमा कुराकानी भएको स्वीकार गरेका छन् । लोकपथसँगको अनौपचारिक कुराकानीमा चौलागाईँले सरकारी वकिलले पहिले ६० लाख रुपैयाँ मागेको र पछि ४५ लाखमा झरेको कुरा आफूले बनवारीलाई भनेको स्वीकार गरेका छन् ।

‘तपाईँहरूले सरकारी वकिललाई घुस दिएर अभियोगबाट उम्किएको आरोप लागेको छ, वास्तवमा कति रकम दिनुभएको हो ?’ भन्ने लोकपथको प्रश्नमा चौलागाईँले रकम नदिएको जिकिर गरे । कुराकारीकै क्रममा चौलागाईँले आफूले बनवारीसँग सरकारी वकिलले रकम माग गरेको सम्बन्धमा कुराकानी गरेको भने स्वीकार गरे ।
आरोपित भन्छन्, ‘सरकारी वकिलले ६० लाख मागेका छन् भनेकै हो’
चौलागाईँले भने, ‘मैले बनवारीसँग सरकारी वकिलले ६० लाख मागेको छ भन्ने कुरा गरेकै हो । त्यस बेला सरकारी वकिलले ६० लाख माग्यो तिमी ३० लाख हाल, हामी दुई जना १५-१५ लाख हाल्छौँ भनेको हो । तर उसले मेरो ३० लाखको सामान नै समात्यो मैले कसरी हाल्ने भन्यो । पछि सरकारी वकिल ४५ लाख रुपैयाँमा झर्यो तिमी २५ लाख हाल हामी १०-१० लाख हाल्छौँ भनेकै हो ।’
‘त्यसो भए कुन सरकारी वकिलले रकम मागेको हो त ?’ भन्ने प्रश्नमा चौलागाईँले साइमनले छुट्छु भनेपछि बयान फेर्छ कि भनेर बयान फेराउन त्यस्तो जुक्ति निकालेको बताए । चौलागाईँले भने, ‘भन्न त मैले जिल्ला सरकारी वकिलमा र उच्च सरकारी वकिलमा पनि मेरो मान्छे छ भनेकै हो । मैले पहिले ६० लाख मागेको छ र पछि ४५ लाखमा कुरा मिलेको छ पनि भनेकै हो । तर मैले सरकारी वकिलसँग सेटिङ गरेको थिइन ।’
‘अनुपस्थित’ राखेर गरियो मुद्दा दर्ता
उच्च सरकारी वकिल कार्यालयको निर्णयपछि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवादीहरू कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो । उनीहरुविरुद्ध मुद्दा दायर हुँदा प्रतिवादीहरू प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काको हकमा कारागारमा रहेको उल्लेख गरिएको छ भने कृष्णप्रसाद चौलागाई र पवन भण्डारीको हकमा ‘अनुपस्थित’ भनी उल्लेख गरिएको छ । जबकि जेल सजायसमेत हुन सक्ने फौजदारी कसुरमा प्रतिवादीलाई समेत पक्राउ गरी नियन्त्रणमा लिई अदालतमा पेस गर्नुपर्ने हुन्छ । तर जिल्ला सरकारी वकिल कार्यालयकै निर्णयबाट छुटेका उनीहरूलाई जिल्ला सरकारी वकिल कार्यालयले अनुपस्थित भन्दै मुद्दा दायर गरेको छ ।

यद्यपि जिल्ला सरकारी वकिल कार्यालयले लागूऔषध नियन्त्रण ब्युरोलाई असार ११ गते पत्र लेख्दै एक दिनको समय दिएर प्रतिवादीलाई उपस्थित गराइदिनु भनेको पाइएको छ । तर ब्युरोले प्रतिवादीलाई उपस्थित नगराएपछि ‘फरार’मा नराखी ‘अनुपस्थित’का रूपमा मुद्दा दायर गरेको पाइएको छ ।
यो पनि …
जिल्लाले उन्मुक्ति दिएका लागूऔषध कारोबारीलाई उच्च सरकारी वकिलले गर्यो मुद्दा चलाउने निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया