मोरङ । शुक्रबार राति मोरङमा भएको ७ वर्षीय बालिकाको हत्या आफ्नै काकाबाट भएको खुलेको छ । शनिवार बिहान हत्या गरिएको अवस्थामा भेटिएकी बालिकालाई आफ्नै काकाले बलात्कारपछि हत्या गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार काका नाता पर्ने २२ वर्षीय युवकले बालिकाका बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४:४५ बजे जिल्लाको धनपालथान गाउँपालिका ५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव फेला परेको थियो । बालिकाको शरीरमा चोटपटक समेत देखिएपछि अनुसन्धान हुँदा घटना शंकास्पद देखिएको भन्दै प्रहरीले नातामा काका पर्ने २२ वर्षीय युवकलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
शनिवार बिहानै नियन्त्रणमा लिइएका युवकमाथि अनुसन्धान हुँदा घटनामा युवककै संलग्नता पाइएको डिएसपी चुडालले बताइन् । काका नाता पर्ने व्यक्तिले पहिले बालिकामाथि बलात्कार गरी पछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसरी भयो बालिकाको बलात्कार र हत्या
मोरङको धनपालथान गाउँपालिका ५ रङपुर वैरियामा एउटा सानो परिवार थियो । परिवारमा पीडित बालिकाका हजुरआमा, बुवा, आमा भाइ तथा काकाहरू बस्थे । बालिकाकी बुवा घटनाको दिन मात्रै किनमेलका लागि भन्दै भारत गएका थिए ।बालिकाकी आमा पनि ७ वर्षीय बालिका र ३ वर्षको छोरोलाई सासूको जिम्मा लगाएर एक दिनका लागि माइत गएकी थिइन् ।
सासू आमाले सोही स्थानमा एउटा सानो पसल चलाएकी थिइन् । दिनभर हजुरआमासँगै रहेकी बालिका र बालकलाई साँझ बालिकाकी हजुरआमाले खाना खुवाई घर लगेर सुताउन भन्दै आफ्नो छोरालाई जिम्मा लगाइन् । २२ वर्षीय छोराले ७ वर्षीय भतिजी र ३ वर्षका भतिजलाई घरमा लगेर सुताउन भन्दै लिएर घरमा गए ।
राती अबेर मृतक बालिकाकी हजुरआमा आएर नातिनीको खोजी गर्दा घरमा भेटिइनन् । केही समय उनीहरूले खोजबिन समेत गरे पनि नातिनी नभेटिएपछि प्रहरीमा खबर गरियो । भतिजी बोकेर ल्याउने काकाले आफूले ओछ्यानमा सुताएको तर पछि कता गइन् थाहा नभएको भन्ने बयान दिए ।
त्यसपछि रातको समयमै परिवार, स्थानीय र प्रहरी भएर बालिकाको खोजतलास गर्दा बिहान पौने ५ बजे स्थानीय दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव भेटियो । बालिकाको शरीरमा समेत चोटपटक लागेको पाइएपछि बालिकाको हत्या भएको कुरामा शंका नगरी सुरुमै काकासँग केरकार गरिएको थियो । सुरुमा आफूलाई थाहा नभएको बयान दिएका काकाले शनिवार र आइतबार बिहान समेत केरकार गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । आफूले भतिजीको बलात्कार पछि हत्या गरेको आरोपितले प्रारम्भिक अनुसन्धानका क्रममा बताएका छन् ।
मदिरा सेवन गरेका थिए आरोपितले
आफ्नै भतिजीको बलात्कारपछि हत्या गर्ने आरोपितले घटनाका समयमा मदिरा सेवन गरेको पाइएको छ । अनुसन्धानका क्रममा नियन्त्रणमा लिँदा समेत आरोपितले मदिरा सेवन गरेको पाइएको थियो । आफूले मदिराको सुरमा पहिले बलात्कार र अपराध खुल्ने डरले पछि हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आरोपितलाई कर्तव्य ज्यान र हाडनाता करणी सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया