काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई चाँडो टुंगोमा पुर्याउन आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो विधेयक देशको पुरानो कानुनमध्ये एक भएको उल्लेख गर्दै यसलाई समयानुकूल परिमार्जन गरी यही अधिवेशनमा पारित गर्नुपर्ने बताए ।
उनले नागरिकता विधेयकलाई जस्तै उच्च प्राथमिकतामा राखेर यस विधेयकलाई पनि समितिबाट अघि बढाइदिन आग्रह गरे । ‘यो देशको सबैभन्दा पुराना कानूनहरूमध्ये एक हो । यति बेलासम्म संशोधन हुन सकेको थिएन । अब भने यस अधिवेशनभित्रै अघि बढाइने गरी काम गर्नु आवश्यक छ,’ मन्त्री लेखकले भने ।
बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल भएको उल्लेख गर्दै उनले प्रहरीसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउनुको विकल्प नभएको धारणा राखे ।
उनले प्रहरीका जवानहरूलाई ‘तल्लो स्तरका’ नभई ‘आधारभूत तहका’ भनेर उल्लेख गर्ने प्रस्ताव विधेयकमा गरिएको जानकारी पनि दिए ।
गृहमन्त्री लेखकले सरकार विधेयकलाई राम्रोसँग तयार पारेर निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया