काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले न्यायिक प्रणाली पारदर्शी, छरितो र पूर्वानुमानयोग्य बनाउन फरक मुद्दा व्यवस्थापन पद्धति सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै पौडेलले न्याय सम्पादन प्रक्रियामा सुधार ल्याउने र सूचना प्रविधिको प्रयोगमार्फत आधुनिक प्रणाली विकास गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन्।
उनले उच्च अदालत र जिल्ला अदालतमा लागू भइसकेको फरक मुद्दा व्यवस्थापन प्रणालीलाई सर्वोच्च अदालतमा पनि प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे। ‘यो पद्धतिले न्याय ढिलो हुने गुनासो घटाउन, प्रक्रियालाई पारदर्शी बनाउन र जनताको विश्वास बढाउन सहयोग गर्छ,’पौडेलले भने।
पौडेलले इजलासको बहसको समय व्यवस्थापन आफ्नो उच्च प्राथमिकता रहेको बताए। अनावश्यक पेशी स्थगन रोक्न, जटिल मुद्दामा समयसापेक्ष बहस सुनिश्चित गर्न र बार एसोसिएसन लगायत सरोकारवालासँग समन्वय गर्दै समय व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।
उनले न्यायालयमा सूचना प्रविधिको विकास, अनलाइन मुद्दा दर्ता प्रणालीको सुधार, आवश्यक पूर्वाधार र सफ्टवेयर निर्माणमा पनि जोड दिने प्रतिबद्धता जनाए।
विशेष प्रकृतिका मुद्दाहरूको छिटो फर्छ्यौट र समयमा फैसला गर्ने कुरालाई आफूले मुख्य प्राथमिकतामा राख्ने स्पष्ट पार्दै उनले न्यायिक सुशासन कायम गर्न सक्रिय भूमिका खेल्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया