काठमाडौं । पाइलट विजय लामाले आफूहरूले अहिलेसम्म पाएको राष्ट्रपति जनताको वा राष्ट्रको नभएर दलको मात्रै रहेछ भन्ने टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा पाइलट लामाले आफूहरूले आफ्नै राष्ट्रपति नपाएको गुनासो गरेका हुन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सम्बन्धमा सामाजिक सञ्जालमा लेख्दै पाइलट लामाले पूर्व राष्ट्रपति भण्डारीको सोचलाई साँघुरो सोच भनेका छन् ।
शनिवार मात्रै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कने बताएकी थिइन् । दुई कार्यकाल राष्ट्रपतिमा रहिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्कन लागेपछि पाइलट लामाले भण्डारीलाई पहिले राष्ट्रको नभएर कुनै पार्टीको मात्रै राष्ट्रपति रहेको भान भएको टिप्पणी गरेका छन् । पाइलट लामाले भण्डारी पुनः राजनीतिमा फर्कन लागेकामा आफूलाई नमज्जा र दुख लागेको समेत बताएका छन् ।
पाइलट लामाले लेखेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भन्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो ! यदि सत्य हो भने ।
एक होइन, दुई–दुई कार्यकाल राष्ट्रपति भएर बसिसक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाई ? कठै कस्तो साँघुरो सोच !
फेरि खुम्चिनु लाग्नु भएको हो, एउटा पार्टीको मात्र बनेर ? अब हामी सबैलाई थाहा भयो कि हामी नेपालीले हाम्रो आफ्नै राष्ट्रपति पाएका रहेनछौँ भनेर ।
सम्मानित ओहोदामा सम्माननीय भएर बसेपछि पनि अब सामान्य राजनीतिकर्मी बन्ने सोच कहाँ बाट आयो ?
जय चन्द्र सूर्य ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया