प्रस्तावित न्यायाधीशलाई बर्तौलाको प्रश्न : सात महिनाअघिको प्रतिबद्धता छोडेर खुट्टा उचाल्दै आउने ?

लोकपथ
3.2k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन्।

संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनिसकेपछि आफ्ना धारणा राख्दै बर्तौलाले भने, ‘मेरो व्यक्तिगत मत के हो भने, यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ। तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुहोस्, यो मेरो व्यक्तिगत सुझाव हो।’

बर्तौलाले पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यावसायिक घरानाबाट प्रभाव परेको भन्दै प्रश्न उठाए। उनले भने, ‘सात महिनाअघिको प्रतिबद्धता छोडेर खुट्टा उचाल्दै आउने ? तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा रहनु भए पनि, तपाईंको हृदय केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने शंका छ। यो कानुन वृत्त र न्यायिक क्षेत्रमा समेत उहाँबारे प्रश्न उठ्दै आएको छ।’

बर्तौलाले थप प्रश्न गरे, ‘व्यवसायिक घरानासँगको सम्बन्धमा तपाईं बफादार भएर वकिलको रूपमा होइन, व्यवसायिक घरानाको प्रतिनिधिको रूपमा काम गर्नुहुन्छ भन्ने बुझाइ छ। त्यो सत्य होइन भन्ने कुरा तपाईं कसरी प्रमाणित गर्नुहुन्छ ?’

उनले तत्कालीन सर्वोच्च बारका अध्यक्ष रहेका पोखरेलले कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएको, र आफूले व्यवसायिक हितका लागि काम गर्ने स्पष्ट गरेको स्मरण समेत गराए।

‘प्रस्तावित न्यायाधीश भएपछि पनि अघिल्लो कमिटमेन्ट तोडेर हिँड्न मिल्छ भन्ने कुरा न्यायिक क्षेत्रमा विचलन आउन नदिन कसरी सुनिश्चित गरिने हो ?,’बर्तौलाले भने।

यद्यपि, पोखरेलले संसदीय सुनुवाइ समितिमा आफ्नो योजना प्रस्तुत गर्दै, सर्वोच्च अदालतको न्यायाधीश बनेपछि राजनीतिक पहिरन छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?