काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कानुन व्यवसायीहरू पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए । आफू न्यायाधीश बनेपछि निरपेक्ष रूपमा काम गर्ने जिकिर गरे । न्यायाधीश भएपछि संविधान, कानुन र न्यायको पक्षमा अब्बल साबित गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘कानुन व्यवसायीहरूले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानुन र न्यायको पक्षमा अब्बल साबित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरू आउन सक्छन् । धम्की आउन सक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भूमिका हुन्छ ।’
उनले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने भन्दै संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया