एमालेको राजनीतिमा पुन: जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)

लोकपथ
560
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने औपचारिक घोषणा गरेकी छन्। मदन जयन्तीको अवसरमा उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको सदस्यको रूपमा पुनः जोडिएको जनाइन्।

भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन।’ उनले देश र जनताको हित नै आफ्नो प्रमुख ध्येय रहेको बताइन्।

उनले जननेता मदन भण्डारीका भनाइ उद्धृत गर्दै भनिन्, ‘जनता भनेका भगवान हुन्। राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन। यी विचारलाई आदर्श बनाएर म समर्पित बनिरहनेछु।’

उनले राजनीतिक उतारचढावले धेरै शिक्षा र अनुभव दिएको उल्लेख गर्दै सबैको माया र विश्वास सधैं पाइरहने कामना गरिन्।एमालेमा पुनः जोडिएको घोषणा गरेपछि सभागृह हलमा तालि गुञ्जियो।

भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने जिम्मेवारी अझै बाँकी रहेको बताइन्।

उनले विश्वास व्यक्त गरिन् कि नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य प्रवाहको रूपमा सक्षम छ र राष्ट्रिय शक्ति निर्माण गरी नेपाललाई विश्वसामु समुन्नत राष्ट्रका रूपमा चिनाउन सफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?