काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई रक्तबीज झैँ बलियो पार्टीको संज्ञा दिँदै यसलाई कमजोर बनाउने प्रयास सधैं असफल हुने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्ती’ तथा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका विभाजनकारी प्रवृत्तिप्रति कटाक्ष गर्दै भने, ‘एमाले रक्तबीज झैँ हो, एउटालाई काटे रगतबाट अरू राम्रा मान्छे जन्मिन्छन्। यसलाई दबाउने, फुटाउने सपना देख्नु व्यर्थ छ।’
उनले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै पार्टीबाट लाभ र सुविधा लिएर अलगिनेहरुलाई नैतिक प्रश्नसमेत गरे। ओलीले भने, ‘पार्टीकै सुविधा लिएर पार्टी सिध्याउन लाग्नेहरूलाई लाज हुनुपर्दैन? पार्टीले बनाएको संरचना र सम्मानलाई पछाडि पारेर विचलन देखाउनेहरू असफल छन्।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले जबजको केवल नारामा सीमित नरही त्यसको व्यवहारिक कार्यान्वयनमा अघि बढिरहेको बताए। ‘हामी जबज जपेर बसिरहेका छैनौं, कार्यान्वयन गरिरहेका छौं,’उनले स्पष्ट पारे, ‘तीन दशकसम्म जननेता मदन भण्डारीले अघि सारेका विचारहरूलाई जीवन्त बनाइरहेका छौं।’
एमाले कुनै पनि हालतमा भकिम्लाको काठझैं कमजोर नभएको भन्दै उनले पार्टी सुदृढ, सुसंगठित र जनतामा भरोसा कायम गर्न सफल भएको दाबी गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया