काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको जानकारी प्रतिनिधि सभालाई गराएका छन् । शनिबारको बैठकमा सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गर्ने बताए।
कतार एयरवेजमार्फत दोहा हुँदै असार १५ गते स्पेन पुग्ने प्रधानमन्त्री ओलीले जानकारी दिए। भ्रमणमा उनीसहित २१ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली सेभिया पुग्नेछन्, जहाँ नागरिक समाजले आयोजना गरेको कार्यक्रममा भाग लिनेछन्। सोही दिन साँझ उनले स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए।
उनका अनुसार स्पेनका नरेशद्वारा आयोजना गरिने स्वागत कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। कार्यक्रममा १५ जना सहभागी हुने जानकारी दिए।
प्रधानमन्त्रीले यो सम्मेलन दशकमा एकपटक मात्र आयोजना हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको उल्लेख गरे।
हेर्नुस् कार्यतालिका
भ्रमणको दोस्रो दिन, असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ ।
– लगत्तै मेरो, नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ ।
– साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।
– असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ ।
भ्रमणको तेस्रो दिन असार १६ गतेको कार्य तालिका बाक्लो छ ।
– बिहान उद्घाटन सत्रमा सहभागिता हुनेछ ।
– अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधनको लागि हामीलाई आमन्त्रण गरिएको छ ।
– दिउसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।
– दिउसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा मैले सम्मेलनलाई संबोधन गर्नेछु ।
– अपरान्ह ४:०० देखि ५:१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः
– इजिप्टका प्रधानमन्त्री महामहिम डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक
– पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक
– संयुक्त राष्ट्रसंघ महासचिव महामहिम श्री अन्तोनियो गुटरेससँगको बैठक
– तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका महामहिम अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ ।
चौथो दिन (असार १७ गते)
– पहिलो कार्यक्रम, मैले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने छु ।
– बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा संबोधन गर्नेछु ।
– अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई संबोधन गर्नेछु ।
– अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन गर्नेछु ।
– दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा संबोधन गर्ने कार्यक्रम छ ।
– साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुनेछ ।
पाँचौं दिन, असार १८ गते । हामी सेभियाबाट म्याड्रिड फर्किने छौं । म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ ।
– साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई संबोधन गर्नेछु । नेपालमा लगानी गर्न आव्हान गर्नेछु ।
छैटौ दिन, असार १९ गते । हाम्रो भ्रमणको अन्तिम दिन । स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ । समयले साथ दिए केही महत्वपूर्ण स्थानहरुको अवलोकन साथै हाम्रो राजदुतावासको अवलोकन गरिने छ।
अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ ।
यसै दिन राती १०:४५ बजे दोहाको लागि प्रस्थान गरिने छ । हप्ता दिन पछि असार २० गते दिउसो ४:४५ बजे हाम्रो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया