काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जापानमा भिजिट भिसाको नाममा ठगी गरेको आरोप सुमिरे टुर एण्ड ट्राभल्समाथि लगाएका छन्।
उनले विगत १० वर्षदेखि हजारौँ नेपालीलाई जापान पठाउने नाममा अर्बौँ रुपैयाँ उठाएको भन्दै यसबारे निष्पक्ष छानबिनको माग गरेका हुन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सुमिरे ट्राभल्ससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरू संसद्मा प्रतिनिधित्व गरिरहेको र पार्टी किनेर संसद्मा छिरेको आरोप लगाए । उनका अनुसार, ती व्यक्तिहरू संसद्मा यदाकदा आएर उफ्रिने काम मात्रै गर्दै आएका छन्।
‘सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिइयो। त्यही पैसा खर्चेर संसद्मा प्रवेश गरियो, अब निष्पक्ष छानबिन गरेर कारबाहीको दायरा अघि बढाउनुपर्छ,’ खतिवडाले भने।
सांसद खतिवडाले संसदभित्र अन्य सदस्यहरूले बोल्न थाल्दा नारा लगाउने, अवरोध गर्ने जस्ता प्रवृत्तिको पनि विरोध गरे। उनले यस्तो कार्य संसदीय मर्यादा विपरीत भएको भन्दै तत्काल अन्त्य गर्न आग्रह गरे।
खतिवडाको आरोपसँगै भिजिट भिसा प्रकरण पुनः संसद्को बहसको केन्द्रमा आएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भिजिट भिसा अनियमितता र गृहमन्त्रीको राजीनामाको मागसहित सदन अवरुद्ध गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया