काठमाडौं । संसदीय सुनुवाइ समितिले शुक्रबार सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दर्ता गराएका उजुरीकर्तासँग छलफल गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध दर्ता भएका उजुरीमाथि छलफल गरिएको हो।
छलफलका क्रममा उजुरीकर्ता मनोजकुमार क्षेत्रले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात बनाएको आरोप लगाए। उनले पोखरेलकै प्रभावमा काठमाडौं जिल्ला अदालतले कागजात किर्ते नभएको ठहर गरेको दाबी पनि गरे। यस्तै, नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गर्दा पोखरेलको प्रभाव देखिएको समेत उल्लेख गरे।
न्यायाधीशमा प्रस्तावित शान्तिसिंह थापाविरुद्ध उजुरी दिने आरती रावलले थापाले सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई किर्ते कागजको आरोपमा २५ दिन हिरासतमा राखेको आरोप लगाइन्। उनले थापाले आफ्नो आवाज दबाउन मुद्दा लगाएको र हाल उक्त मुद्दाबाट आफू पूर्णरुपमा सफा भइसकेको बताइन्।
त्यस्तै, बाँके जिल्ला अदालतका एक कर्मचारीविरुद्ध परेको निवेदन प्रक्रिया अगाडि नबढाएको आरोप पनि थापामाथि लगाइएको छ।
श्रीकान्त पौडेलविरुद्ध पनि दुई वटा उजुरी परेका छन् भने थापाविरुद्ध एक र पोखरेलविरुद्ध दुई उजुरी परेका छन्।
उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले आइतबार प्रस्तावित तीनै न्यायाधीश तथा न्यायपरिषद् सदस्यको औपचारिक संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया