काठमाडौं । सरकारले सुनचाँदीका गहनामा लगाएको २ प्रतिशत विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको न्यूरोड क्षेत्र ठप्प पारिएको हो ।
बजेटमार्फत सबै मूल्यका सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लागू गरिएको विरोधमा व्यवसायीहरूले विशाल संयुक्त र्यालीसहित खबरदारी सभा आयोजना गरेका हुन् ।
न्यूरोड गेटबाट सुरु भएको र्याली विशाल बजार, इन्द्रचोक, बांगेमुढा, असन, भोटाहिटी, वीर अस्पताल हुँदै पुनः न्यूरोडमै समापन गरिएको छ । र्यालीका कारण सो क्षेत्रमा सवारी आवागमन पूर्णरूपमा बन्द भयो भने अधिकांश पसलहरू पनि बन्द गरिएका छन् ।
यसअघि ५ असारदेखि आन्दोलन स्थगित गरेका व्यवसायीहरू सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएपछि पछि हटेका थिए । तर, माग सम्बोधन नभएपछि उनीहरू पुनः अनिश्चितकालीन व्यवसाय बन्द गरेर संघर्षमा उत्रिएका हुन् ।
व्यवसायीहरूको प्रमुख मागहरूमध्ये सुनका सबै प्रकारका गहनामा लाग्ने २ प्रतिशत विलासिता कर खारेज गर्नु र बहुमूल्य पत्थरमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनु पर्ने रहेको छ ।
व्यवसायीहरूका अनुसार अघिल्लो व्यवस्था अनुसार १० लाखभन्दा माथिका सुनका गहनामा मात्र विलासिता शुल्क लाग्दथ्यो । तर नयाँ बजेटबाट जुनसुकै मूल्यका गरगहनामा पनि कर लागू गरिएपछि उपभोक्ता तहमा करभार बढेर कम्तीमा ६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ ।
व्यवसायीहरूले असार मसान्तसम्म माग सम्बोधन नभए थप सशक्त आन्दोलन र साझा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया