काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको जिम्मेवारी अर्थ मन्त्रालयको मात्र नभई सबै मन्त्रालयको साझा जिम्मेवारी भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले सम्बन्धित मन्त्रालयहरूले आ–आफ्नो जिम्मेवारीमा पर्ने कार्यक्रम र योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी ढंगले गरिरहेको छ, तर बजेट कार्यान्वयन समग्र मन्त्रालयहरूको समन्वय र सक्रियतामा भर पर्छ।’
उनका अनुसार बजेट कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन हालका मापदण्ड, निर्देशिका तथा अन्य व्यवस्थाहरू अद्यावधिक गरिनेछ। उनले बजेट कार्यान्वयन प्रक्रियामा सुधार ल्याउन आवश्यक प्रवन्धहरू बजेटमा समेटिएको स्पष्ट गरे।
‘बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि हामीले कार्यान्वयनमा प्रतिबद्धता जनाएका थियौं,’मन्त्री पौडेलले भने, ‘अब त्यो प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयहरूको समन्वय आवश्यक छ।’
उनको भनाइमा, बजेट कार्यान्वयनको सफलता सरकारी संयन्त्रहरूको सक्रियता, स्पष्ट कार्ययोजना र अद्यावधिक व्यवस्थापन प्रणालीमा निर्भर रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया