काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई पुनः महामन्त्रीको हैसियतमा काम गर्न पाउने मागसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै आगामी असार १७ गते मंगलबार दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो। अदालतले ‘रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय’ उक्त छलफलपछि गर्ने जनाएको छ।
डा. ढकालले रास्वपाको महामन्त्रीको हैसियतमा काम गर्नबाट रोकेको भन्दै उत्प्रेषण आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक नगरेको जानकारी दिएपछि अदालतको ढोका ढकढक्याएका हुन्।
ढकालले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, केन्द्रीय कार्य समिति, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र पार्टी सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएका छन्। सभापति लामिछाने हाल रुपन्देहीस्थित कारागार कार्यालयमा थुनामा छन्।
सर्वोच्चको यो आदेशसँगै रास्वपाभित्र देखिएको आन्तरिक विवाद फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया