चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले यसअघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि सडक बन्द हुने सूचना जारी गरेको थियो। तर, पहिरो प्रभावित क्षेत्रमा ढुंगा हटाउने काम नसकिएकाले समय थप गरी दिउँसो ३ बजेसम्मका लागि सडक बन्द गरिएको कार्यालयले जनाएको छ।
डिभिजन कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम रहेको छ। त्यहाँ कुनै पनि बेला माथिबाट ठूला ढुंगा खस्न सक्ने सम्भावना भएकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
डिभिजनले सम्भावित दुर्घटना न्यूनीकरणका लागि लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य जारी राखिएको जानकारी दिएको छ।
यस अवधिमा लेन अनुशासन पालना गरी सवारीसाधन रोक्न कार्यालयले आग्रहसमेत गरेको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था गर्न र सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया