उदयपुरका आठ पालिकाले ६ अर्ब ६२ करोड बराबरको बजेट पारित

कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र स्वरोजगारलाई प्राथमिकता

लोकपथ
84
Shares

उदयपुर । उदयपुरका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।

सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि  ६ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । 

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ । 

यस्तै, चौदण्डी गढी नगरपालिकाले  एक अर्ब १३ करोड ३५ लाख ४१ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।

कटारी नगरपालिकाले  ८७ करोड ६५ लाख तीन हजार ४०० बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले  ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।

चार गाउँपालिकामा उदयपुर गढी गाउँपालिकाले ६८ करोड ४० लाख पाँच हजार बराबरको बजेट ल्याएको छ भने रौतामाई गाउँपालिकाले  ६६ करोड ९९ लाख ६१ हजारको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

यस्तै लिम्चुङबुङ गाउँपालिकाले  ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याएको छ भने ताप्ली गाउँपालिकाले  ४१ करोड ७३ लाख ५५ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।

कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताए ।

जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिने गरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?