हेटौंडा । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ‘विशेष कारण’ भन्दै स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
तर, स्रोतका अनुसार बैठक स्थगनको मूल कारण सत्तारूढ दलकै सांसदहरूमध्ये नेपाली कांग्रेसका सांसदहरूको बजेटप्रति असन्तुष्टि हो । बुधबार साँझ बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा आफ्नै सरकारप्रति कडा आलोचना भएको थियो ।
बैठकमा सहभागी सांसदहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको तीव्र आलोचना गरेका थिए । उनीहरूले बजेट आफ्नै जिल्लामा मात्र केन्द्रित गरिएको, बिचौलियाको प्रभावमा बजेट बनाइएको र व्यापक असमानता गरिएको आरोप लगाएका थिए ।
कांग्रेस सांसदहरूले राति अबेरसम्म छलफल गर्दै बजेट संशोधनको माग उठाएका थिए । विशेषगरी विकास बजेट वितरणमा पारदर्शिता नभएको र जनप्रतिनिधिका आवश्यकता भन्दा बिचौलियाको प्रभावलाई प्राथमिकता दिइएको गुनासो प्रमुख रुपमा उठाइएको थियो ।
विवादले चुलिँदै गएपछि बैठक स्थगन गर्ने निर्णय गरिएको हो । अब असार १६ गतेको बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।
यस घटनाले सत्तापक्षभित्रै बजेटप्रतिको असन्तोष सतहमा आएको छ, जसले आगामी दिनमा सरकारको स्थायित्व र बजेट कार्यान्वयन प्रक्रियामा थप चुनौतीहरू सिर्जना गर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया