काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण सबै नागरिकको साझा दायित्व भएको बताएका छन् । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गृहसचिव दुवाडीले लागुऔषध दुर्व्यसनको असर समाजका विविध क्षेत्रमा गहिरो रूपमा परेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै तहका सरकार, सरकारी तथा गैरसरकारी निकायहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘लागु औषधको असर धेरै क्षेत्रमा परिरहेको छ । बहु क्षेत्रीय असर छ । हाम्रो घर, समाज र समग्र मुलुकलाई अध्याँरोतर्फ लगिरहेको लागु औषधलाई हामी सबै मिलेर नियन्त्रण गर्न जरुरी छ ।’
दुवाडीले लागु औषधको कुलतमा परेर देशका भविष्य कर्णधारहरू संकटमा परिरहेको उल्लेख गर्दै यो समस्याले हिंसा, हत्या, आत्महत्या, दुर्घटना र साइबर अपराध जस्ता गम्भीर सामाजिक विकृति बढाइरहेको बताए । उनले यस्ता गतिविधि नियन्त्रण गर्न समाजका सबै पक्षको समन्वय अपरिहार्य रहेको धारणा राखे ।
कार्यक्रममा उनले सरकार लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कानुनी प्रावधान निर्माण गर्दै सक्रिय रहेको जानकारी पनि गराए ।
गृहसचिव दुवाडीले एकल प्रयासले मात्र लागुऔषध नियन्त्रण सम्भव नहुने स्पष्ट गर्दै यसमा सबैको सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया