काठमाडौं । सरकारको तर्फबाट लागु औषध नियन्त्रणमा कडा कदम चाल्दै आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयअन्तर्गत छुट्टै लागु औषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित ‘लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन्।
गृहमन्त्री लेखकले सरकार लागु औषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको जानकारी दिए। उनले भने, ‘हामी लागु औषध नियन्त्रण गर्नका लागि तपाईँहरूले चाहनुभएको जस्तै छुट्टै विभागको स्थापना छिट्टै गर्नेछौँ। म आज यो घोषणा गर्दछु।
गृहमन्त्रीका अनुसार मन्त्रालयमा आफू आएको समयदेखि नै लागु औषध नियन्त्रणलाई विशेष चासो दिइएको छ। उनका अनुसार यस विषयमा गृह मन्त्रालयले विभिन्न रणनीति र योजनाहरू तयार पारी कार्यान्वयनमा ल्याइरहेको छ।
उनले लागु औषध समस्या समाजका लागि गम्भीर चुनौती भएको बताउँदै देशभरका कारागारहरूमा रहेका कैदीबन्दीमध्ये दोस्रो ठुलो संख्याले लागु औषध दुर्व्यसन, भण्डारण वा ओसारपसारसम्बन्धी अपराधमा सजाय भोगिरहेको जानकारी दिए।
गृहमन्त्री लेखकले समाजमा लागु औषधको विस्तार भयावह भएको उल्लेख गर्दै यसले सामाजिक संरचना, स्वास्थ्य, कानुन व्यवस्था र युवाहरूको भविष्यमा गम्भीर असर पारिरहेको तर्क गरे।
यसअघि पनि सरकारले विभिन्न समयमा लागु औषध नियन्त्रणका पहलहरू गरेको भए पनि समर्पित र एकीकृत संस्थागत संरचना नहुँदा दीर्घकालीन प्रभावकारिता देखिएको थिएन। यस पटक छुट्टै विभाग स्थापनाको घोषणाले नीतिगत तथा कार्यान्वयन पक्षमा ठोस सुधारको संकेत दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया