राजश्व विभागको स्पष्टोक्ति : ‘आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन गरिएको छैन’ 

लोकपथ
315
Shares

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन् । 

बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरूदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताए ।  

उनले स्थानीय उत्पादनको प्रवर्द्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताए ।  

उनले अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको बताए ।  

उनले भने, ‘अहिले आयुर्वेदिक औषधिमा भ्याट लगाएको भन्ने कुरामा कुनै सत्यता छैन । आयुर्वेदिक औषधिको करका दरमा कुनै परिवर्तन गरिएको छैन । विगतदेखि लागेको कुरालाई निरन्तरता मात्र दिएको हो । अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै छ । त्यहीअनुरूप हामीले आन्तरिक उत्पादनलाई बढावा दिन र यस्ता औषधीजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरूप नै दरका रेटमा केही परिवर्तनहरू भएका छन् । यस वर्ष हामीले स्थानीय उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने भ्याट समेत खारेज गरेका छौँ ।’ 

अगामी आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?