सांसद तामाङको प्रस्ताव : ‘प्रधानसेनापति जसरी नै प्रहरी महानिरीक्षक नियुक्त हुने व्यवस्था विधेयकमा गरौँ’

लोकपथ
1.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो । 

जसबारेमा आफ्ना धारणा राख्दै उनले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्व जानकारी हुनु आवश्यक रहेको बताए ।  उनले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताए । कुनै पनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने बताए ।  

सांसद तामाङले भने, ‘यो बढुवाको विषय छ । म यति वर्ष काम गरेपछि मेरो दाग कतै लागेको छैन । मलाई कतै स्पष्टीकरण सोधिएको छैन । म कुनै केसमा मुसिएको छैन । यति वर्षमा म यो पदमा पुग्छु, भन्ने ग्यारेन्टी यसमा हुनुपर्‍यो । आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ । प्रधानसेनापति को हुने भन्ने कुरा अहिले नै थाहा छ । विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ । त्यस्तै आइजिपी पनि त्यस्तै हुनुपर्छ । एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ । त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ ।’

सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिए । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?