अर्काको नाममा परीक्षा दिएको अभियोगमा युवक पक्राउ

लोकपथ
882
Shares

काठमाडौं । जनप्रशासन क्याम्पस, काठमाडौं–१४ मा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति जुम्ला जिल्ला चन्दननाथ नगरपालिका–८ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेका छन्। उनलाई परीक्षा केन्द्रबाटै पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार केशव रोकाया जनप्रशासन क्याम्पसका विद्यार्थी दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका थिए।

एसपी बोहरा भन्छन्, ‘जनप्रशासन क्याम्पसको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो। अब उनलाई शिक्षासम्बन्धी ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’

प्रहरीका अनुसार हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

यस घटनाले परीक्षामा हुने अनुशासनहीनता र नक्कली परीक्षार्थी प्रयोगको गम्भीरताप्रति चासो बढाएको छ। क्याम्पस प्रशासनले समेत घटनाबारे थप सतर्कता अपनाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?