काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सम्पत्ति विवरणअनुसार, उनले करिब साढे १५ लाख कित्ता सेयर/ऋणपत्रमा लगानी गरेका छन् । विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र श्रीमती प्रतिभा शर्माको नामबाट १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर अर्थात् १४ करोड ५ लाख ६७ हजार रुपैयाँबराबर सेयर लगानी गरेका छन् ।
ती सेयरमध्ये सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण (प्रवर्द्धकबाट साधारणमा परिणत भएको) र बाँकी सबै प्रवर्द्धक सेयर रहेको पौडेलले प्रस्ट्याएका छन् । स्वआर्जन र पैतृक सम्पत्तिबाट उक्त लगानी गरिएको उल्लेख छ ।
यस्तै, श्रीमती शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैँडाकोटमा एक/एक वटा घर र जग्गा रहेको छ भने ४५ तोला सुन, १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् । अहिलेको मूल्यअनुसार सुनको मूल्य करिब ८७ लाख रुपैयाँ बराबर हुन आउँछ ।
पौडेलले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी करिब २७ लाख रुपैयाँ नगद निक्षेप राखेका छन् । ६ वटा वित्तीय संस्थामा निक्षेप खाता रहेकोमा तीन वटा आफ्नो र तीन वटा श्रीमतीको नाममा खोलिएको छ । तीमध्ये २ वटा डलर खाता रहेका छन् ।
श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया