प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सांसद गिरीको आग्रह

लोकपथ
273
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले अपराध अनुसन्धान र शान्ति सुरक्षामा प्रहरी स्वतन्त्र ढंगले काम गर्नुपर्ने बताए। उनले राजनीतिक तहबाट आवश्यक वातावरण नबन्दा प्रहरी संगठन दबाबमा रहने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे।

‘राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन दबाबमा छ,’उनले भने, ‘यसले अपराध अनुसन्धान र शान्ति सुरक्षामा बाधा पुर्‍याएको छ।’

सांसद गिरीले सीमित स्रोत, साधन र जनशक्ति भएर पनि नेपाल प्रहरीले मुलुकमा शान्ति सुरक्षाका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको बताए। दक्षिण एशियामै अपराध नियन्त्रणका हिसाबले नेपाल प्रहरी अब्बल रहेको उल्लेख गर्दै उनले संगठनको कार्यक्षमताप्रति सन्तोष व्यक्त गरे।

उनले थपे, ‘अब बन्ने ऐनले राजनीतिक पहुँच बिना पनि प्रहरी अधिकृतहरूको सरुवा र बढुवा पारदर्शी ढंगले हुने व्यवस्था गर्नुपर्छ। नेताको घर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’

प्रहरी अधिकृतहरूले आफ्नो पदोन्नतिका लागि नेताको घर–दैलो गर्नुपर्ने प्रचलन अन्त्य गरी निष्पक्ष र योग्यताका आधारमा बढुवा र सरुवा हुने प्रावधान कानुनमा समेट्नुपर्नेमा उनले जोड दिए।

गिरीको भनाइमा, ‘राजनीतिक देउपेचको कोपभाजनमा कोही परे प्रहरीहरू नै पर्ने अवस्था छ। यसले वास्तवमा अपराध अनुसन्धानमा र शान्ति सुरक्षा कायम गर्ने सवालमा बाधा उत्पन्न गरेको छ।’ उनले अब बन्ने ऐनमार्फत प्रहरीलाई पूर्ण रूपमा पेशागत स्वतन्त्रता दिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?