विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपालको बयान जारी, आजै थुनछेक बहसको तयारी 

लोकपथ
1.5k
Shares

काठमाडौं । विशेष अदालतमा उपस्थित पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान जारी छ । पतञ्जलि जग्गा प्रकरणमा आफूविरुद्धको मुद्दाको सिलसिलामा विशेष अदालतको इजलास २ मा नेपालको बयान जारी छ ।

विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिइरहेका छन् ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । 

पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधामन्त्री नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो । अख्तियारले दायर गरेका चार वटा कसुरमध्ये माधव नेपाललाई एउटा कसुरमा प्रतिवादी बनाएको छ । 

पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने र पछि बिक्री गर्न दिने निर्णय नीतिगत नभई प्रशासनिक प्रकृतिको भएको निष्कर्षसहित अख्तियारले नेपाललाई पनि कसुरदार बनाएर आरोपपत्र दायर गरेको हो । 

पतञ्जलिको नेपाल प्रमुख शालिग्राम सिंह, केही जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो ।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलिले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ। उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ ।

बयान सकेर आजै थुनछेक बहसको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?