काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकार राष्ट्रिय सभामा स्पष्टरुपमा अल्पमतमा पर्ने देखिएको छ । ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकाल्दै जसपा कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले समर्थन फिर्ताको निर्णय लिन संसदीय दललाई निर्देशन दिएको छ ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुबैमा उपेन्द्र यादव नै नेतृत्वमा छन् । जसपा नेपालका वरिष्ठ नेता राजकिशोर यादवका अनुसार, छिट्टै नै संसदीय दलको औपचारिक बैठक बसेर समर्थन फिर्ताको निर्णय लिइने छ ।
समर्थन फिर्ता लिए ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपाल पहिलो दल बन्ने छ । तर झन्डै दुई तिहाइ समर्थन पाइरहेको ओली सरकारलाई गणितीयरुपमा यसले केही फरक पर्दैन ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलको गठबन्धन सरकारबाट ५ सिट संख्या भएको जसपाले समर्थन फिर्ता लिँदैमा सरकार ढल्ने भन्ने पनि छैन । तर, पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच हुँदै आएको सघन छलफलकै बीचमा जसपाले समर्थन फिर्ता लिने निर्णय गर्नुलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।
तीन सांसद रहेको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा राष्ट्रिय सभामा सरकार स्पष्टरुपमा अल्पमतमा पर्नेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारमा सहभागी दलहरूको २७ जना मात्र सांसद छन् ।
राष्ट्रिय सभामा नेपाली कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (१) जना सांसद छन् । यसरी जसपा नेपालको साथ पाउँदा ३० सांसदसहित सरकार राष्ट्रिय सभामा बहुमतमा थियो ।
राष्ट्रिय सभाको सबभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र विपक्षमा छ । उक्त दलका १७ सांसद छन् । नेकपा एकीकृत समाजवादी पार्टीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षमा छन् । यसरी विपक्षमा हाल २६ सांसद छन् ।
राष्ट्रिय सभामा जसपा नेपाल दलका नेता मृगेन्द्रकुमार सिंह यादवले संसदीय दलले निर्णय गरेपछि आफूहरू राष्ट्रिय सभामा विपक्षी बेञ्चमा बस्ने बताए । ‘केही सांसद बाहिर भएकाले संसदीय दलको बैठक बसेको छैन,’ यादवले भने, ‘दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया