अमेरिकी आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको दाबी, रिसाए ट्रम्प

लोकपथ
4.7k
Shares

काठमाडौं । अमेरिकी आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको गोप्य रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको प्रारम्भिक गुप्तचर प्रतिवेदनले ‘इरानको परमाणु कार्यक्रम पूर्णतः नष्ट’ भन्ने दाबीमाथि प्रश्न उठाएको छ ।

गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले सार्वजनिक गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई ‘फेक न्युज’ भनेका छन् । 

इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । बस्टर बम प्रहारबाट इरानका परमाणु केन्द्र पूर्णतः ध्वस्त पारिएको ट्रम्पको दाबी रहेको थियो । यस्तै अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीन वटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए । 

तर सीएनएनलाई पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डीआईए) स्रोतहरूले बताएअनुसार शनिबार भएका बम आक्रमणले इरानको युरेनियम भण्डार ध्वस्त पार्न सकेको छैन ।

इरानको सबैभन्दा ठूलो र सुरक्षित मानिने फोर्दो परमाणु केन्द्र जमिन मुनि ९० मिटर तल छ । तर त्यहाँसम्म बंकर बस्टर बमले क्षति नपुर्‍याएको र आक्रमण मुख्यतः सतहमा रहेका संरचनासम्म सीमित भएको रिपोर्टसँग सम्बन्धित स्रोतको दाबी छ । आक्रमणले इरानको परमाणु योजना केही महिना मात्र पछाडि धकेलिएको छ । इरानले भग्नावशेष पन्छाएर छिट्टै मर्मत गर्न सक्ने बताइएको छ । यस्तै, अमेरिकाले बंकर बस्टर बम आक्रमण गर्नुअघि नै इरानले सम्वर्धित युरेनियमको केही भाग अर्को स्थानमा सारिसकेको पनि रिपोर्टमा उल्लेख छ ।

यो गोप्य रिपोर्ट सार्वजनिक भएसँगै रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रमा क्षति नपुगेको भन्ने समाचारलाई ‘फेक न्युज’को संज्ञा दिएका छन् ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्स फेक न्युज फैलाइरहेका छन् । इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणलाई दुवैले बदनाम गर्न खोजिरहेका छन् । इरानका परमाणु केन्द्र पूर्णतः ध्वस्त पारिएका छन् । जनता दुवै संस्थालाई कडा जवाफ दिइरहेका छन् ।’

ट्रम्पले यस प्रसंगमा मध्यपूर्वका विशेष दूत स्टिभ विट्कोफको फक्स न्युजसँगको अन्तर्वार्ताको भिडियो सेयर गर्दै लेखेका छन्, ‘हामीले फोर्दो केन्द्रमा १२ वटा बंकर–बस्टर बम हानेका थियौँ । त्यो केन्द्र सम्पूर्ण रूपमा ध्वस्त भएकोमा कुनै शंका छैन । त्यसैले हाम्रो उद्देश्य पूरा नभएको भनी आउने रिपोर्टहरू पूर्णतः आधारहीन छन् ।’

फक्स न्युजसँगको अन्तर्वार्तामा विट्कोफले भने गोप्य रिपोर्ट सार्वजनिक हुनुलाई ‘देशद्रोह’को संज्ञा दिएका छन् । ‘यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान हुनु जरुरी छ,’ उनले भनेका छन्, ‘यसमा जो जिम्मेवार छ, त्यसलाई कारबाही गरिनुपर्छ ।’

यस्तै, ह्वाइट हाउसले यो मूल्यांकनलाई फर्जी भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेप्ने मनसायले ल्याइएको बताएको छ । सामाजिक सञ्जालको एक पोस्टमा, ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले भनेकी छिन्, ‘यो कथित ‘मूल्यांकन’ पूर्णरूपमा गलत छ । यो ‘अति गोप्य’को रूपमा वर्गीकृत गरिएको थियो । तर, गुप्तचर समुदायको एक अज्ञात र निम्नस्तरको व्यक्तिले सीएनएनमा चुहाएको छ ।’

‘यो कथित मूल्यांकन रिपोर्टको चुहावट राष्ट्रपति ट्रम्पलाई निच देखाउने र इरानको आणविक कार्यक्रमलाई पूर्णरूपमा नष्ट गर्ने सफल मिसन सञ्चालन गर्ने बहादुर लडाकु पाइलटहरूलाई बदनाम गर्ने प्रयास हो,’ उनले अगाडि भनेकी छिन्, ‘जब तपाईं ३० हजार पाउन्डको १४ वटा बमहरू आफ्नो लक्ष्यमा पूर्णरूपमा प्रहार गर्नुहुन्छ, तब पूर्ण विनाश हुन्छ भन्ने सबैलाई थाहा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?