चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । ‘पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ’, उनले भने ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले आजदेखि लागू हुने गरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठुलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठुलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।
गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्ने अध्यक्ष पोखरेल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया