काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अघि बढाउने लक्ष्यसहित मन्त्रालय अघि बढिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सुशासन प्रवर्द्धन, विद्युतीय शासनको विकास र आर्थिक–सामाजिक रूपान्तरणमा सूचना प्रविधिको भूमिकालाई थप प्रभावकारी बनाउने स्पष्ट पारे ।
‘सूचना प्रविधि क्षेत्रलाई निजी क्षेत्रको लगानीतर्फ आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने र युवा जनशक्तिलाई रोजगारी तथा स्वरोजगारीमा जोड्ने हाम्रो योजना छ,’मन्त्री गुरुङले भने ।
उनका अनुसार मन्त्रालयको दीर्घकालीन सोच आर्थिक समृद्धि हासिल गर्ने दिशामा केन्द्रित छ । मन्त्रालयको नीति, कार्यक्रम र बजेट आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्र केन्द्रित रहनेछ ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालय र यसअन्तर्गतका निकायहरूका लागि ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले चालू खर्चतर्फ ७५ प्रतिशत र पुँजीगत खर्चतर्फ बाँकी रकम प्रयोग गरिने बताए
कार्यान्वयनका लागि वार्षिक कार्यक्रमहरूको एकीकृत कार्य योजना तयार गरी साउनदेखि लागू गरिने तथा नियमित अनुगमन र मूल्यांकन गरिने पनि मन्त्री गुरुङले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया