विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका तीन ठाउँमा हेलिकप्टर तयारी हालतमा राखियो

लोकपथ
266
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरूमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा राख्ने तयारी भइरहेको बताए । 

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसिएसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने बताए ।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने उनले बताए । ‘हामी अत्यन्तै ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौँ,’ गृहमन्त्री लेखकले भने, ‘जुनसुकै बेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबानबारेमा पूर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाडौंको केन्द्रीय गोदाम घर बाहेक) प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । 

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए । 

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो,’ उनले भने, ‘देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरूलाई तयार रहन निर्देशन दिइएको छ ।’

नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?