काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार क्वालालम्पुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।
८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । नेपालका शिवांश बजगाईंले ७ चौकासहित अविजित ३८ रन बनाए भने प्रसिद्ध जैसी ३ चौकासहित अविजित ३३ रनमा रहे ।
इन्जुरीका कारण जोए थापा तेस्रो ओभरमै १ रनमा आउट भएका थिए । त्यसपछि शिवांश र प्रसिद्धले दोस्रो विकेटका लागि ७६ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा मात्र ८० रनमै समेटिएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । गाबी हाराहिन्जले १३ रन जोड्न सके । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बाँयाहाते स्पिनर शुभम खनालले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । अभय यादवले २ विकेट तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट हात पारे ।
नेपालले यसअघि पहिलो खेलमा पनि शानदार जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया