भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन : माओवादी सकारात्मक, रास्वपा असन्तुष्ट

लोकपथ
2.7k
Shares
फाइल तस्बिर

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समिति गठनलाई माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताएका छन् । उनले समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिएका छन् ।

रास्वपाले भने समिति गठनलाई टालटुले र कर्मकाण्डी भनेको छ । उसले यस्तो समितिले कुनै समस्या समाधान नगर्ने जनाएको छ । 

रास्वपा प्रवक्ता मनिष झाले भने, ‘टालटुले र कर्मकाण्डी छानबिन समिति बनाइयो यसले कुनै समस्या समाधान गर्दैन ।’

उनले आजको बैठक अवरोध वा बहिस्कार के गर्ने भन्ने प्रतिनिधि सभा बैठकअघि संसद् भवनमा छलफल गरेर निर्णय गर्ने बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरोध गरेको थियो । जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को  अवरोध हटाएको थियो । 

रास्वपाले भने अध्यागमन विभागमा हुने सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको हुन सक्ने भन्दै उच्चस्तरीय संसदीय वा न्यायिक समिति गठनको माग गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?