नागार्जुनका निलम्बित मेयर बस्नेतलाई घुस दिने कँडेलले तिरेनन् ऋण, लिलामी प्रक्रिया अघि बढ्यो

लोकपथ
1.2k
Shares

काठमाडौं । नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस दिने व्यवसायी राजुप्रसाद कँडेलले कर्मचारी सञ्चय कोषबाट लिएको ऋण नतिरेपछि कोषले लिलामी प्रक्रिया अघि बढाएको छ । 

कँडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट लिएको अल्पकालीन ऋणको साँवा ब्याज नबुझाएको र ऋणको भाखासमेत नाघेको भन्दै सञ्चय कोषले लिलामी प्रक्रिया अघि बढाएको हो । 

सञ्चय कोषले आज एक सूचना प्रकाशित गरी कँडेललाई ऋण तिर्न ३५ दिन समय दिएको छ । पटक पटक ताकेता र भुक्तानीका लागि म्याद दिँदासमेत चुक्ता नगरेको बताएको कोषले ३५ दिनभित्र कोषमा सम्पर्क गरी कोषलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण ऋण रकम, त्यसमा लाग्ने ब्याज र हर्जाना ब्याज तथा लाग्ने अन्य रकम समेत चुक्ता गर्न भनेको छ । ऋण नतिरे धितोमा रहेको चल, अचल सम्पत्ति बेचेर असुल गर्ने चेतावनीसमेत दिएको छ । 

कँडेलले पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङ (साबिक इचंगुनारायण गाविस) वडा न ६ मा रहेको कित्ता नम्बर १९८, १६२,३८५ ३८१ ३८२, ३८४, १४७, ३८७, ४१५, १६९ र ८९ जग्गा धितोमा राखेर ऋण लिएका थिए ।

यही जग्गामा कँडेलले पद्म हस्पिटालिटीमार्फत २ अर्ब ३० करोड रुपैयाँमा दुई सय कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेका थिए । होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो । जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो । होटल आउँदो सन् २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरिएको थियो ।

उता, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनीका सञ्चालक कँडेलबाट मेयर बस्नेतले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको ठहर गरिसकेको छ । कँडेलले कम्पनीको नाममा जग्गा प्राप्त गर्ने मेयर बस्नेतलाई घुस दिएको अदालतको ठहर छ ।

मेयर बस्नेत र व्यवसायी कँडेलको सजाय निर्धारणका लागि १६ असारको मिति तोकिएको छ । यसअघि अख्तियारले गत पुस १४ मा मेयर बस्नेत र उनकी श्रीमती उर्मिला बस्नेत र घुस दिने कँडेलविरुद्ध भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । 

अख्तियारले तीनै जनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनै जनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो । 

कँडेल पद्म ग्रुप अफ कम्पनीजको अध्यक्ष हुन् । कँडेल पद्म हस्पिटालिटी, पद्म मर्चेन्ट कम्पनी, धुनीवेसी आदर्श मल्टिपल कलेजलगायत थुप्रै संस्थाका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?